• १३ साउन २०८१, आइतबार

बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत ३ गते । बाजुराको सेरा–आँटीचौर सडक अन्तर्गत पर्ने बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ भएको छ ।  सडक निर्माणको जिम्मा लिएको जयदेवी एसएस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो । २०७९ साल चैत मसान्तसम्ममा काम पूरा गर्ने गरी २०७७ साल असारमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा जयदेवी एसएसले लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

सेरा–आँटीचौर सडक निर्माणको समेत जिम्मेवारी लिएको सो ठेकेदार कम्पनीले, समयमै काम पूरा नगरेपछि अहिले सो सडकमा स्थानीयलाई आउजाउ गर्न निकै सास्ती भएको छ । सडक स्तरोन्नति नहुँदा ब्रह्मतोला, कुँडी, डुग्री, आँटीचौर र डोगडीका स्थानीयलाई हिउँद तथा बर्खामा आउजाउ गर्न सास्ती भएको बुढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि सडक स्तरोन्नति नहुँदा स्थानीयवासीलाई बर्खाको समयमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या हुने गरेको छ ।” 

आर्थिक वर्ष २०६५/६६ मा सडक डिभिजन कार्यालय अछामले सेरा–आँटीचौरसम्मको कच्ची सडकको निर्माण पूरा गरेपछि छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएका थिए । यो सडकले बुढीगङ्गा नगरपालिका–२ को बल्देदेखि खप्तड छेडेदह गाउँपालिकाको आँटीचौर, डोगडी हुँदै बझाङ जिल्ला छोएको छ । पहिला कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । 

डोगडीदेखि आँटीचौरलगायतका स्थानीय सोही सडकबाट दैनिक कामकाजका लागि साँफे–मार्तडीलगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् । 

ठेकेदारको लापरबाहीले सेरा–आँटीचौर सडक कालोपत्रेको काममा पनि निकै ढिलाइ भएको छ । यहाँका स्थानीयवासीलाई आउजाउमा निकै समस्या र कष्टकर हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरेर स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापरबाहीका कारण यसरी नै अलपत्र पर्ने गरेका छन् । कोरोनाका कारण सामान महँगो हुँदा सडक निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनी जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो ।