• १८ वैशाख २०८१, मङ्गलबार

अन्नपूर्ण आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन अध्ययन

blog

पर्यटन गुरुयोजना निर्माणका लागि आधार शिविर पुगेको गाउँपालिकाको प्राविधिकसहितको टोली । तस्बिर सौजन्य : अमृत सुवेदी

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २ गते ।
  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरिस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।

वडा नम्बर ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउपालिकाले पर्यटन गुरुयोजनामार्फत पूर्वाधार निर्माण गर्ने भएको हो ।

अन्नपूर्ण प्रथम नेपालमै पहिलो पटक आरोहण भएको हिमाल हो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा मौरिज हर्जोग पदमार्गको पहिचान गरिएको थियो ।

पर्यटकीय सम्भावना भएर पनि पूर्वाधारको अभावमा ओझेलमा परेकाले पूर्वाधार निर्माण गर्न पर्यटन गुरुयोजना निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

गुरुयोजना निर्माण गरेर आधार शिविर र मौरिस हर्जोग पदमार्गमा योजनाबद्ध रुपमा पर्यटकीय पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो । पछिल्ला केही वर्ष यता हिमाल आरोहण गर्ने आरोही र आधार शिविरको भ्रमणमा पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेपछि गाउँपालिका पूर्वाधार निर्माणमा जुटेको उहाँले जानकारी दिनुभयो । 

चारहजार तीनसय पाँच मिटरको उचाईमा रहेको आधार शिविरमा र नारच्याङको बेसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।

गुरुयोजना निर्माणका लागि सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी भूगर्भविद्, वातावरणविद् र जनप्रतिनिधिसमेतको टोलीले आधार शिविर र पदमार्गको तीनदिन सम्म स्थलगत अवलोकन र निरीक्षण गरेर फर्किएको छ ।

एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने समेटीएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको  ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध विकास गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

एककृत गुरुयोजनामा समेटिएका पूर्वाधारहरुलाई गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा पर्यटन बोर्ड लगायतका निकायसँग साझेदारी र सहकार्य गरेर पूर्वाधार निर्माण गरिने भएको छ ।

गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पुर्‍याउने, आरोहीहरुको सुविधाका लागि गोदाम घर बनाउने गुरुयोजनामा समावेश गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी, पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, आकशे गुफालाई व्यवस्थित गर्ने, गुफाफाँट र सन्धिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालय लगायतका पूर्वाधार थप गर्ने योजना समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

मौरिस हर्जोग पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने,  झरना परिसरमा आकर्षक आर्क ब्रिज बनाउने र कफी सप सञ्चालनका लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । पदमार्गको प्रस्थान बिन्दु नारच्याङको बेंसीगाउँमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशगेटलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजना समावेश गरिएको छ ।

अहिले आधारशिविर जानका लागि बेंसी गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्गको पहिचान गरिएको थियो ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दूरीको पदमार्ग छ ।  यो मध्ये ८ मिलोमिटर पदमार्ग व्यवस्थित भएको, ५ किलोमिटर मर्मत गर्नुपर्ने र ३ किलोमिटर नयाँ पदमार्ग निर्माण गर्नुपर्ने सर्भेले देखाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । सडक र पदमार्गमा पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एकैदिनमा पुग्न सकिने भएको छ ।