जनावरको आक्रमण वृद्धि : दुई वर्षमा सैँतीस जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको मृत्यु भएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो अवधिमा सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो तीन महिनायता मात्रै बाघको आक्रमणबाट नौ जनाको मृत्यु भएको पाइएको छ ।
दोलखा–नागदह सडक कालोपत्रे सुरु
दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको दोलखा–नागदह सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । नगरपालिकाका इन्जिनियर राजुनारायण श्रेष्ठले एक करोड ७१ लाख ५८ हजार रुपियाँ (भ्याटबाहेक)को लागतमा सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी गत मङ्सिर मसान्तमा सीएबी–नाति जेभीले ठेक्का सम्झौता गरेको जानकारी दिनुभयो । हालसम्म सडक स्तरोन्नतिको कामको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । अहिले ५५७ मिटर सडकमा प्रिमिक्स पिच हाल्ने काम भइरहेको छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहे तापनि मौसमको कारण काममा समस्या भइरहेको छ ।
ठूलो पार्टी बन्न गठबन्धन गरेका होइनौँ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको बताउनुभएको छ । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।
मध्यभोटेकोसी जलविद्युत् आयोजना : ढुङ्गा–माटोले स्थानीयलाई समस्या
सिन्धुपाल्चोक समाचारदातासिन्धुपाल्चोक, जेठ २७ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा निस्केको ढुङ्गा–माटो भोटेकोसी नदी र बस्तीमा अव्यवस्थित रूपमा फाल्दा स्थानीयवासीलाई समस्या भएको छ । सुरुङ खन्ने क्रममा ब्लास्टिङ गरेर निस्केको ढुङ्गा–माटो नदीमा फाल्दा नदी आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सास्ती बेहोर्नुपरेको हो । सुरुङमा विस्फोट गर्दा निस्कने रासायनिक पदार्थसमेत मिसिएको ढुङ्गा–माटोेले नदी प्रणाली प्रभावित भएको छ । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले ब्लास्टिङको रासायनिक दुर्गन्धले जम्बु, बाह्रबिसे, चाकु, लामोसाँघुलगायतका नदी आसपासका स्थानीयवासीमा विभिन्न जटिल रोग देखिन थालेको सुनाउनुभयो । “जथाभावी नफाल्न पहिलेदेखि आग्रह गरिएको छ तर निर्माण कम्पनी र आयोजना पक्षले आग्रह अटेर गर्दै आएका छन्,” उहाँले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, चरीकोट सडक डिभिजन प्रमुख अर्जुन सुवाल, प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवसहित नगरप्रमुख बस्नेत, उपप्रमुख मञ्जु तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङनुर्पु लामा, उपाध्यक्ष दिछेन शेर्पालगायतले प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो । नदी र बस्ती छेउमा जथाभावी फालिएको सामग्री सुरक्षित स्थानमा डम्पिङ गर्न पूर्वमन्त्री बस्नेतले आग्रह गर्नुभएको छ । आयोजनाका जनसम्पर्क व्यक्ति रामकृष्ण अधिकारीले मकिङ डम्पिङका लागि चाकु, जम्बु, चिप्लिङडाँडा, बोर्डरल्यान्ड क्षेत्रमा मन्त्रिपरिषदबाट स्वीकृत गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । ठेकेदार चिनियाँ कम्पनी ग्वाङ्सी कन्स्ट्रक्सन प्रालिका कामदारले मकिङ तोकिएभन्दा फरक केही स्थानीय व्यक्तिको जग्गामा फालेकोले यस्ता समस्या आएको र यसबारे आयोजनालाई खबर पुगेको उहाँले उल्लेख गर्नुभयो ।
पहिरोले घर पुरिँदा एक बेपत्ता
त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।
मोतीबिन्दुको समस्या बढ्दै
नेपालका पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । खस्रेरोगका कारण हुने अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ ।
चितवन हत्या प्रकरणमा सम्लग्न तीन जना पक्राउ
शालिग्राम नेपाल चितवन, जेठ २६ गते । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या प्रकरणमा सम्लग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुरस्थित पन्चेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाइकलमा आएका व्यक्तिहरूले अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
बानेश्वरमा विष्फोट गराउने चार जना पुर्पक्षका लागि थुनामा
काठमाडौं जिल्ला अदालतले सिलिण्डर ग्यास विष्फोट गराएको अरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।