कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको सुरुआतमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गर्नुभएको थियो । माओवादी केन्द्रसँगको छलफलपछि मनाएर बैठक सञ्चालन गर्ने प्रयास सभामुख शाहीले गरे पनि पुनः बैठक चल्न सकेन । उहाँले सभाको बैठक सञ्चालन गर्न भन्दै बुधबार दिउसो ३ः०० बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बसाल्नुभयो ।
फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने
फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिनुभयो । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।” आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताउनुभयो ।
आयोडिनयुक्त नुनको माग
सरकारले ढुवानी खर्च बेहोरेपछि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुनको माग बढ्दै गएको छ । नेपाल सरकारको कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको ढुवानी खर्च सरकारले बेहोरेपछि आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग
महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् ।
लोप हुने अवस्थामा ‘दौउडा’
उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो ।
विद्यालयमा सुविधायुक्त शौचालय
जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको छ । सिन्जा गाउँपालिका–४, जुम्लाको शारदा आधारभूत विद्यालय र कनकासुन्दरी–३ मा सञ्चालित नवदुर्गा आधारभूत विद्यालयमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै
कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले राससलाई जानकारी दिनुभयो ।
व्यावसायिक ड्रागन फ्रुटको खेती
वीरेन्द्रनगरमा पहिलो पटक व्यावसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । सरकारी र गैरसरकारी निकायको सहयोग विना वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यवसायिक खेतीको सुरुवात गरेको हो ।
‘दुल्लु विद्रोह’का अठार वर्ष पीडितले पाएनन् क्षतिपूर्ति
वि.सं. २०६१ को हिउँदमा विद्रोही माओवादीविरुद्ध विद्रोह गरेका सर्वसाधारण नागरिकमाथि राज्यको बलमिच्याइँ कायम छ । उनीहरूले अहिलेसम्म आफ्नो जग्गा फिर्ता र क्षतिपूर्ति पाउन सकेका छैनन् । सो वर्षको कात्तिक २३ मा दुल्लु नगरपालिका–८ का राजु वज्राचार्यलाई माओवादी कार्यकर्ताले जबरजस्ती वडा जनसरकार प्रमुख घोषणा गरी ‘कम्ब्याट ड्रेस’ लगाइदिए । अर्को दिन सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले ।