बाढी जोखिममा नाग्म बजार
मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।
सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण
चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।
महिलाको शव फेला
रुकुम पश्चिममा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका १ गिलबाङ निपानेमा पहिचान नखुलेका अन्दाजी ३५ देखि ४० वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
एमालेमा अवसरवादी प्रवृत्ति मौलायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले पार्टीभित्र अवसरवादी प्रवृत्ति मौलाउँदैगएको बताउनुभएको छ । सुर्खेतमा आयोजित पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आचरण विग्रिन थालेको बताउनुभएको हो ।
न्यूनतम मापदण्डमा जिल्ला अस्पताल, दैलेख प्रथम
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पताल मध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ ।
नदीजन्य वस्तु ओसारपसार गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार गर्ने तीन ट्याक्टरलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा ६९ हजार बढी करदाता दर्ता छन् । ४० हजार करदाताबाट एक अर्ब ६७ करोड राजस्व सङ्कलन गरिएको हो ।
गाउँभरि तरकारी खेती ‘सिजन’मा नौ करोड आम्दानी
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–४, ठूलो हर्रे गाउँभरि तरकारी खेती गरिएको छ । सातवटा समूह मिलेर एउटा तरकारी ब्लक निर्माण गरिएको छ । ब्लकमा १८२ घरधुरी आबद्ध छन् । ती सबैले व्यावसायिक तरकारी खेती गरेका छन् ।
कर्णालीको माथिल्लो क्षेत्रमा भारी वर्षा
कर्णाली प्रदेशको माथिल्लो क्षेत्र अर्थात हिमाली भेगमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निकै बढेपछि माथिल्लो क्षेत्रमा वर्षा धेरै भएको पुष्टि भएको हो ।