लक्षित वर्गको बजेट असारे गोष्ठीमा स्वाहा
बैतडीका स्थानीय तहले लक्षित वर्गका लागि विनियोजित रकम असार महिनाभर विभिन्न होटलमा सभा, गोष्ठी र तालिम आयोजना गरी स्वाहा पारेका छन्। यसको उदाहरण पाटन र दशरथचन्द नगरपालिका पनि हुन्। सो पालिकाले लक्षित वर्गका लागि विनियोजन गरेको ५० लाख रुपियाँ होटलमा तालिम चलाएर सकेको छ। दशरथचन्द नगरपालिकाले दलितका लागि विनियोजित २८ लाख रुपियाँ कहाँ खर्च गर्ने भन्ने कुराको टुङ्गो लगाउन नसक्दा फ्रिज हुने भएको छ।
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खट्टे चन्दका छोरी ३९ वर्षीया कलावती चन्द र छोरा ५८ वर्षीय गम्भिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कैलालीमा ओंत संरक्षणको पहल
कैलालीमा ओंत संरक्षणको पहल थालिएको छ । कर्णाली नदी लगायत आसपासमा पाइने दुर्लभ खैरो ओंतको संरक्षणका लागि कार्य अगाडि बढाइएको हो ।
मानव अधिकारको अवस्था सुधार भएन
तीन तहका सरकारले काम गरिरहे पनि सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार नआएको एक कार्यक्रमका सहभागीले बताएका छन्।
भूमिहीनलाई जग्गाधनी बनाइँदै
कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम सुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम सुरु गरेको हो । छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही आइतबारबाट वडा नम्बर ४ मा जग्गा नाप नक्साको काम सुरु भएको छ । नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले वडा नम्बर ४, मैतुवा गाउँका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि जग्गा नाप कार्य शुभारम्भ गरिएको बताउनुभयो ।
दुर्गम बस्तीका स्वास्थ्यकर्मी समस्यामा
बाजुराका अधिकांश स्वास्थ्य चौकी गाउँबस्तीभन्दा धेरै टाढा छन् । ती गाउँबस्तीमा पुग्न झन्डै एक दिन लाग्छ । हातमा औषधी, काखमा लुगा र पिठिउँमा सन्तान बोकेरै गाउँबस्ती धाउनु पर्ने स्वास्थ्यकर्मीको बाध्यता रहेको छ । केही वर्षअघि स्थानीय सरकारले ती गाउँबस्तीमा सडकको पहुँच पु-याएको थियो तर सडकको मर्मत सम्भार नहुँदा स्वास्थ्यकर्मी खोप लगाउन हिँडेरै जाने गरेका छन् । बाढीपहिरोले ती गाउँमा जोडिएका सडक सबै तहस नहस भएपछि स्वास्थ्यकर्मीलाई वल्लो गाउँबाट पल्लो गाउँमा जान ज्यानै जोखिम राख्नु परेको छ ।
मोहना नदीमा बाढी शिवरत्नपुरवासीमा चिन्ता
मोहना नदीले फेरि कटान गर्न थालेपछि कैलालीको शिवरत्नपुरवासी चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँलाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।
प्रमको चीन भ्रमण भदौमा
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।
शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र झिलमिलामा चिनियाँ बकुल्ला फेला परेको छ । बेल्डाँडी गाउँपालिकाको झिलमिलामा हिजो सो बकुल्ला फेला परेको हो ।
शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान
शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो
स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उहाँले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।
डडेलधुरामा मोती उत्पादनको तयारी
सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।
सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती
सहिद दशरथ चन्दको जन्मस्थान बस्कोट र बैतडी सदरमुकाममा १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मघर बस्कोटस्थित सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बस्कोट र सदरमुकाम गढीस्थित सहिद चन्दको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको बताउनुभयो ।
कर्णालीको सहायक नदीमा आइ पुगे डल्फिन
कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना र पथरैया नदीमा डल्फिनको आएका हुन् ।
परराष्ट्र मन्त्री साउद अछाममा
परराष्ट्र मन्त्री एनपी साउद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो ।
दाजुभाइ भारतमा बेपत्ता
खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता छन् । गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो । सो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो ।
बैतडीमा नौ हजार हेक्टरमा धान खेती
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ७० प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँका १० स्थानीय तहको नौ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधा भएको ठाउँमा असार १५ गतेसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
लगातारको वर्षासँगै रोपाइँको चटारो
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् ।
खोज तथा नवप्रवर्तनमा योगदान दिनेलाई सम्मान
सुदूरपश्चिम प्रदेशका प्रतिभावान युवालाई नगद पुरस्कारसहित युवा प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । खोज, अनुसन्धान तथा नवप्रवर्तनमा योगदान दिएका युवालाई प्रदेश युवा परिषदले शनिबार सम्मानित गरेको हो ।
परराष्ट्र नीति स्थिर भइरहेको छ : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभएको हो ।
अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला
डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।
दीपेन्द्र र वर्षालाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओलीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित एसपीए सुदूरपश्चिम स्पोट्र््स अवार्ड कार्यक्रममा उहाँहरु विजेता घोषित भइ उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको हो ।
धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन
नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् ।
कैलालीमा ३० प्रतिशत रोपाइँ सम्पन्न
कैलालीमा यसवर्ष रोपाइँ अझै पनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् ।