नागरिकता दिलाउने अध्यक्ष ओलीको आश्वासन
जनार्दन खत्रीसर्लाही, बैशाख ३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता पाउनबाट बन्चित रहेका नागरिकलाई नागरिकता दिलाउने आश्वासन दिनुभएको छ । अब आउने सङ्घीय संसद्को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले नागरिकता विधेयक पारित गर्ने उहाँले दाबी गर्नुभयो ।शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको आरोप लगाउनुभयो ।पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले मधेसको खानेपानी, सडक, ढल, सिचाइँजस्ता समस्याप्रति आफू जानकार रहेको भन्दै एमालेको सरकार आएपछि ती क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य केशवप्रसाद ढुङ्गानासहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । जनसभालाई एमालेका मधेस प्रदेश कमिटीका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतले सम्बोधन गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख
काठमाडौं, वैशाख ४ गते। सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ। विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो। आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो। उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो। सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ।“कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उहाँले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताउनुभयो। सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन। यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो। यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ।”स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो। भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो। प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ। रासस
बालुवाटारमा गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठक
काठमाडौं, वैशाख ४ गते। पाँचदलीय सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक बसिरहेको पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच निर्वाचनको सिट बाँडफाँडलगायतका विषयमा छलफल भएको थियो। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबारसम्ममा महानगरपालिका र नगरपालिकाको भागबण्डाका विषयमा गठबन्धने टुङ्गो लगाउँदैछ। जारी बैठक यही विषयमा केन्द्रित छ। पौडेल नेतृत्वको दश सदस्यीय समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का तर्फबाट देव गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट डा. वेदुराम भुषाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राईलगायत हुनुहुन्छ।
काँग्रेसबाट विराटनगरको मेयरमा सात जना सिफारिस
नवराज कट्टेलविराटनगर, वैशाख ३ गते । नेपाल काँग्रेस विराटनगर महानगर समितिले मेयरका लागि सातजना र उपमेयरमा ११ जना नेताको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । महानगर सभापति दिपक चापागाँईले बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट विराटनगरको मेयर र उपमेयरका लागि सिफारिस गरिएको नामावली शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाउनुभएको हो । महानगरको मेयरका लागि काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ । अघिल्लो निर्वाचनमा निर्वाचित मेयर पराजुली र उपमेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले सातजनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप सुरु भएको छ । महानगरका सभापति चापागाँईले विराटनगरमा कुनै पनि तालमेल वा गठबन्धन नगर्ने गरी ह्याभ्बीवेटहरुको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव विराटनगरको उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ । विराटनगरमा कुनै पनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेका छौं, महानगरसभापति चापागाँईले भन्नुभयो, अन्तिम नामको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई छ, त्यसले नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिनेछौं ।
पर्सामा गठबन्धन नहुने, कांग्रेस र जसपाको छुट्टै प्रतिस्पर्धा
कन्हैयालाल केशरीपर्सा, बैशाख ४ गते । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पर्सामा एक्ला एक्लै चुनावमा भाग लिने जनाएपछि सत्ता गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्री र जसपाका सभापति रामनरेश यादबले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै बीरगन्ज महानगरपालिका र १३ वटा पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी गराएको हो । कार्यकर्ताहरुको भावना अनुरुप नेता र कार्यकर्ताहरुको मनोबल उच्च राख्न स्थानीय तहको निर्वाचनमा पर्साको १४ वटा पालिकामा मित्रवत प्रतिस्प्रर्धा गर्ने निर्णयमा दुबै दल पुगेको सभापति सिंह र यादबले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले यी दुई पार्टीको कार्यकर्ताहरुको भावना अनुरुप निर्वाचनमा एक्लै जाने गरेको निर्णयले केन्द्रीय नेतृत्वलाई निर्णय लिन सहज वातावरण बनाई दिएको बताउनुभयो ।
मित्रवत् प्रतिस्पर्धा भए केन्द्रबाट कुनै निर्देशन जाँदैन : प्रवक्ता महत
काठमाडौं, वैशाख ३ गते । नेपाली काँग्रेसले कुनै स्थानीय तहमा सत्तारुढ दलबीच नै प्रतिस्पर्धा हुनसक्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । साथै उहाँले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रष्ट पार्नुभयो । यसैगरी, प्रवक्ता महतले चुनावी तालमेल हुन नसक्ने ठाउँको रिपोर्ट कन्द्रमा दिनुपर्ने बताउनुभयो । 'कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौं, उहाँले भन्नुभयो, 'महानगरपालिका र उपमहानगरबाहेक अरु नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ ।' उहाँले थप्नुभयो, ‘यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरुले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौं ।’महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने उहाँको भनाइ छ । ‘हामीले बाध्य पार्दैनौं, मित्रवत् प्रतिस्पर्धा गर्छौं भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ । तर, एमालेसँग तालमेल हुँदैन', उहाँले भन्नुभयो।
स्थानीय तह निर्वाचनमा कुरा मिल्नेसँग तालमेल : अध्यक्ष नेपाल
नारद कोहारतौलिहवा, बैशाख ३ गते । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुरा मिल्ने दलहरुसँग तालमेल गर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चार नम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले सो कुरा बताउनुभयो ।निजि हितको लागि होइन् समाज परिवर्तनका लागि हिम्मतकासाथ अघि बढ्ेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आफ्नो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभयो । प्रतिगमनकाविरुद्ध रहेका पाँच दल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टी स्थापना भएको सात महिना मात्र भएपनि एक्ला एक्लै लड्न परेपनि पछि नपर्ने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पुर्ण तयारीकासाथ अघि बढ्न नेता नेपालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो नयाँ बर्षका साथमा नयाँ सम्भवना पनि छन्, नयाँ चुनौतिहरु रहेपनि सबैले समना गरेर अघि बढ्नु पर्छ ।
एमाले अध्यक्ष ओली कैलाश दर्शनका लागि लाप्चा जानुहुने
राजन रावतहुुम्ला, वैशाख ३ गते । नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली आईतबार हुुम्ला आउने बित्तिक्कै नेपाली भूमि लाप्चा र लिमी उपत्यकातर्फ जानुुहुने भएको छ । मानसरोवर कैलाशको दर्शनका लागि हेलिकोप्टरबाट उहाँको टोली सिमकोटबाट लाप्चातर्फ जान लाग्नुुभएको हो ।एमाले स्थायी कमिटी सदस्य गोखरबहादुर बोगटीले पार्टी अध्यक्ष एवं पूुर्बप्रधानमन्त्री ओली आइतबार नेपालगंजबाट सिमकोट विमानस्थलबाट सिधै लिमीतर्फ लाग्ने बताउनुुभयो । उहाँको टोलीले पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुुनेछ उहाँले जानकारी गराउनुभयो । सो क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न पाइन्छ । मानसरोवर कैलाशको दर्शनपछि उहाँ हेलिकोप्टरबाट लिमीको हल्जी गाउँमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम छ । लिमीवासीको आफ्नै साँस्कृति, भेषभूषा, रहन सहन भएको र सोबारेका अध्यक्ष ओलीले जान्न चाहेको उहाँले बताउनुुभयो । लाप्चा नाम्खा गाउँपालिकाको वडा ६ को लिमीमा पर्छ ।अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेल, पत्नी राधिका शाक्यलगायतको टोली रहनेछ । लिमीबाट फर्केपछि अध्यक्ष ओलीले सिमकोटमा सञ्चालन हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सिमकोटको कार्यक्रमपछि अध्यक्ष ओलीले आइतबारै दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगरको चुनावी कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी एमाले हुम्लाले गरेको छ । अध्यक्ष ओली योसहित हुम्लामा दोस्रो पटक आउन लाग्नुभएको हो । यसअघि २०७५ वैशाख १ गते रारा पर्यटक महोत्सवमा भाग लिन आउने क्रममा अध्यक्ष ओली हुम्लामा पहिलो पटक आउनुुभएको थियो ।
कैलालीमा पाँचदलीय गठबन्धनबाट बाहिरियो जसपा
अविनाश चौधरीधनगढी, वैशाख ३ गते । कैलालीमा जनता समाजवादी पार्टी (जसपा) पाँच दलीय गठबन्धबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएदेखि गठबन्धनप्रति रुष्ट सो पार्टीले यो जिल्लामा गबन्धनबाट अलग हुँदै अन्य दलसँग चुनावी गठबन्धन गरेको हो । आफ्नो एक जना प्रदेश सभा सदस्य हुँदाहुँदै बाइपास गरेर प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन गरिएको भन्दै सो दलले असन्तुष्टि जनाएको थियो । मन्त्रीमण्डल पुनर्गठन भएलगत्तै असहमति जनाएको जसपाले स्थानीय तहमा मत मिल्ने अरु पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताएको थियो । सोहीअनुसार सो पार्टी चार दलीय चुनावी गठबन्धनमा मिलेको छ । जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको चुनावमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । वैशाख १ गते बसेको चारै पार्टीको संयुक्त बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी अगाडि बढ्ने सैद्धान्तिक र वैचारिक निर्णय गरेको थियो । गठबन्धन दलहरुले शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनले आह्वान गरेअनुरुप निर्वाचन प्रक्रियामा होमिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताले पालना गर्ने गराउने चारवटै दलबीच सहमति भएको नेपाल लोकतान्त्रिक पार्टीका कैलाली अध्यक्ष माधव चौधरीले जानकारी दिनुभयो । पहिचान र अधिकारका खातिर सङ्घर्षरत दलहरु तालमेल गरेर चुनावमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
विवेकशील साझा पार्टीबाट प्रमुख र उपप्रमुखका उम्मेदवारका सात एजेण्डा
काठमाडौं, वैशाख ३ गते। विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा शनिबार पत्रकार सम्मेल गरेर काठमाडौंको मेयर र उपमेयर पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले काठमाडौंको प्रमुख पदमा समीक्षा बाँस्कोटा र उपप्रमुख पदमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। मेयर पदकी उम्मेदवार बास्कोटा पार्टीको बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ। उहाँ गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको थियो। २७ प्रतिशत मत ल्याएर उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो। त्यस्तै, उपमेयर पदकी उम्मेदवार तुलाधर पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ नेपाल जेसीजका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्ये एक हुनुहुन्छ। त्यस्तै, उहाँ अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ। शिक्षा विषयमा स्नातकोत्तर ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ/संगठनको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। मेयर र उपमेयर पदका उम्मेदवारको सात वटा मूल एजेण्डा छन्। बास्कोटा र तुलाधरको भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला-संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाइ र पुनर्स्थापना, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा मूल एजेण्डा छन्।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो
काठमाडौं, वैशाख ३ गते । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक तोकेको छ । काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नुहुने भएको छ ।बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको छ ।उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा सङ्गठित छन् । प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरु, हजारौँको सङ्ख्यामा मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत सङ्गठित छन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न सबैलाई निर्देशन दिनुभयो ।कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका कमिटीका सहइन्चार्ज वीना श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्न सबै पार्टी सदस्यहरु आ–आफ्नो क्षेत्रमा सङ्गठित र समन्वय गरी खट्नुपर्ने बताउनुभएको थियो ।
राजसंस्था पुनर्स्थापनाको सम्भावना अब छैन : थापा
कपिल ज्ञवाली,सिद्धार्थनगर, बैसाख ३ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना बन्द भएको बताउनुभएको छ । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकाले अब राजसंस्था पुनःस्थापना नहुने उहाँको भनाइ छ ।बुटवलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनःस्र्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकाले नयाँँ पार्टी स्थापना भएको बताउनुभयो । उहाँले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको दाबी गर्नुभयो । आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, अहिले राप्रपाले धनी बाउले कमाइदिएकोमा रजगज गरेको हो। हामीले कमाइदिएको पूँजीमा अहिलेका साथीहरु रमाउनु भयो। राप्रपा पछि गएर राप्रपा नेपालमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने दाबी गर्नुभयो ।थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउनुभयो । आधा दर्जन बढी भातृसंगठन निर्माण गरेको उहाँले बताउनुभयो । राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा लिएर अगाडि बढेको उहाँको भनाइ छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताउनुभयो। उहाँले भन्नुभयो,ू केपी ओली नेतृत्वको एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय भएको हो । थापाले यो पटक एमालेको सूर्य चिन्हबाट निर्वाचन लड्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभुयो, हाम्रो चुनाब चिन्हको बारेमा बुझाउन समय लाग्ने भएकाले सूर्य चुनाव चिन्हबाट निर्वाचन लड्नेछौं ।
गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड
शान्ता अधिकारी चितवन, वैशाख ३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको तर्फबाट हुने चुनावी तालमेल आइतबारसम्म टुङ्गिो लगाउने बताउनुभएको छ ।पूर्वी नवलपरासी (नवलपुर) क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान चितवन आइपुग्नु भएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासामा सो कुरा बताउनुभएको हो । उहाँले काठमाडौं फर्केलगत्तै चुनावी तालमेलको खाका तयार गर्ने र आइतबार उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो । “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुङ्गोमा पुग्छौं ।,” उहाँले भन्नुभयो ।पछिल्लो समयमा केन्द्रदेखि जिल्लासम्म भरतपुरको विषयमा कुरा उठने गरेको प्रसंगमा उहाँले बाहिर जसरी आएको छ त्यस्तो हुँदै नभएको जिकिर गर्नुभयो । “भरतपुरको चुनावी तालमेलको विषयलाई बाहिर जस्तो कुरा सुनिएपनि गठबन्धन भित्र त्यस्तो कुनै विवाद छैन ।,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष दाहाल
चितवन, वैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँको भनाइ थियो ।
परिणाम देखिने गरी काम गर्न निर्देशन
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न अधिकतम पहल गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वस्थायी समितिका उपलब्ध सदस्यहरू र प्रदेश इन्चार्जहरूको अनौपचारिक बैठकमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा परिणाम देखिने गरेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बैठक तथा पार्टी प्रवेशको सन्दर्भमा जारी गर्नुभएको विज्ञप्तिमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न पार्टीका तर्फबाट अधिकतम पहल गर्ने उल्लेख छ । प्रचण्डले माओवादीप्रति आकर्षण बढेको र पार्टी प्रवेशको जनलहर छाएको बताउँदै पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको जानकारी दिनुभयो । शुक्रबार भएको कार्यक्रममा नुवाकोट र रौतहट जिल्ला तथा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी सात सय जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका बताइएको छ ।
काँग्रेस निर्वाचन परिचालन समिति बैठक : केही उपसमिति गठन
काठमाडौं, वैशाख २ गते। सत्तारुढ दल नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ। समितिका संयोजक एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले सातै प्रदेश र पालिका तहमा प्रतिनिधि पठाउने र आगामी दिनमा हुने चुनावी सभामा हुने आचारसंहिता कार्यान्वयन एवम् अनुगमन कसरी गर्ने भन्ने सन्दर्भमा छलफल भएको समितिका सदस्य नैनसिंह महरले बताउनुभयो। भातृ संघ समन्वय तथा परिचालन उपसमिति, जिल्ला समन्वय सम्पर्क समन्वय परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समन्वय, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षक, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो। ‘बैठकमा उपसभापति खड्काले गठबन्धनलाई थप प्रभावकारी बनाउने र यसैले नै हामी सबैको अस्तित्व जोगिने भन्ने कुरा आको छ’, महरले भन्नुभयो। यस सन्दर्भमा भातृ र शुभेच्छुक संस्थाको परिचालन कसरी गर्ने, सबै पालिकामा केन्द्रीय प्रतिनिधि पठाउन निर्देशन दिने लगायतका विषयमा बैठकमा छलफल भयो।सहमहामन्त्रीले प्रदेश र जिल्ला कमिटीबीचको समन्वय गर्छ, केन्द्रबाट ७७ जिल्लामा जाने केन्द्रीय प्रतिनिधिले जिल्लामा आएको समस्या त्यहाँको व्यवस्थापन र गठबन्धनबीच मिलाउने तथा समन्वय गर्ने काम गर्ने उहाँको भनाइ छ।
नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति
काठमाडौं, वैशाख २ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउनुभयो। उहाँले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गर्नुभयो। उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गर्नुभयो। केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उहाँले उल्लेख गर्नुभयो। उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उहाँको भनाइ थियो। अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उहाँले बताउनुभयो। ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याउनुभयो। कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उहाँले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् छ भन्नुभयो।समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताउनुभयो। समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिनुभयो। उक्त समारोहमा उपराष्ट्रपति पुनले रु एक/एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गर्नुभयो। यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ। सो अवसरमा विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो।
निर्वाचनमा सहभागी हुन हामी सकारात्मक छौं : प्रकाण्ड
काठमाडौं, वैशाख २ गते । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा नेता प्रकाण्डले स्थानीय तह निर्वाचनमा सहभागी हुन आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो ।निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको जानकारी गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले दिनुभयो । यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् । सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो । वार्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताउनुभको थियो ।
करिब ८० अर्ब अमेरिकी अनुदान लिने सरकारको निर्णय
काठमाडौं, वैशाख २ गते । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।उहाँले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने छ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड) अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।त्यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।यसैगरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति गर्ने र राष्ट्रिय आवास कम्पनी लिमिडेटको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
माओवादी केन्द्रमा गठबन्धनको व्यवहारिक कार्यान्वयनबारे छलफल
काठमाडौं, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) को शुक्रबार कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा निर्वाचन सम्बन्धमा विशेष छलफल भएको छ । माओवादी केन्द्रका नेता लीलामणि पौडेलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सैद्धान्तिक निर्णय भइसकेको अवस्थामा अब यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले आजको बैठकबाट ठोस निर्णयभन्दा पनि तलको रिपोर्टिङ लिने र गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभयो । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलका शीर्ष नेताहरुबीच चुनावमा गठबन्धनका दलरुबीच मात्रै तालमेल गर्ने निर्णय भएको थियो । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा ती विषयमा करिब दुई घण्टा छलफल भएको थियो ।
चुनावी तालमेल र आपसी सहकार्यको भावनाले अगाडि बढ्न पाँच दलको आह्वान
काठमाडौं, चैत २८ गते । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । गठबन्धनको बैठकपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै सो अपिल गर्नुभएको हो । उहाँहरुले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि अपिलमार्फत आग्रह गर्नुभएको छ । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।,’ पाँच दलका नेताद्वारा जारी अपिलमा भनिएको छ, ‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लङ्घन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अङ्गहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गणेशबहादुर गुरूङ, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ, वर्षामान पुन, नेकपा (एकीकृत समाजवादी)बाट झलनाथ खनाल, डा. विजय पौडेल र प्रकाश ज्वला, जसपाबाट डा. अशोक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पौडेलले उपस्थिति थियो । अर्को बैठक भोलि (मङ्गलबार) अपराह्न ४ बजे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
भूमि महत्त्वपूर्ण आर्थिक क्षेत्र हो : प्रधानमन्त्री देउवा
काठमाडौं, वैशाख १ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि नेपालको महत्त्वपूर्ण आर्थिक क्षेत्र भएको बताउनुभएको छ। बिहीबार लिखित रजिष्ट्रेशन पारित भएको एक सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले भूमि प्रशासन संवेदनशील र महत्त्वपूर्ण रहेकोसमेत उल्लेख गर्नुभयो। ‘नेपालमा कृषि उत्पादन र राजस्व परिचालन दुवै दृष्टिले भूमि महत्त्वपूर्ण आर्थिक क्षेत्र हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आर्थिक क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने भूमि प्रशासन संवेदनशील र महत्त्वपूर्ण कार्य हो।’ नेपालका करिब दुई तिहाई परिवार भूमिमा आश्रित रहेको भन्दै उहाँले ग्रामीण क्षेत्रमा परिवारको जीविकोपार्जनको मुख्य आधार नै भूमि भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले अहिले सरकारी र सार्वजनिक भूमि अतिक्रमण गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रणका लागि चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो।
प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छः मुख्यमन्त्री शाही
कर्णाली, वैशाख १ गते। मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताउनुभएको छ। नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताउनुभएको हो।मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गर्नुभयो। यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उहाँको भनाइ छ। सन्देशमा भनिएको छ, ‘सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ। ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ।’सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पुर्याउन पनि आग्रह गर्नुभएको छ।
३९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छाप्ने काम सकियो
काठमाडौं, वैशाख १ गते । निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छाप्ने कार्य भइरहेको उहाँको भनाइ छ।त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेतालाई आग्रह गरेको छ । 'निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, 'निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।'यसैगरी, उहाँले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन बिहीबारदेखि नै ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्न लगेको पनि जानकारी दिनुभयो ।