मतपरिणामको प्रतिक्षामा मतदाता : ललितपुरमा सुस्त गणना
काठमाडौं जेठ १ गते। ललितपुर महानगरको मतगणना सुस्त भएको भन्दै मतदाताले आक्रोश व्यक्त गरेका छन्। शनिबार दिउँसोबाट मतगणना सुरु भएको महानगरमा आइतबार दिउँसोसम्म एउटा मात्र वडाको मत परिणाम सार्वजनिक भएको छ। ललितपुर महानगरपालिकाको वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाउम्मेदवारको विवादकै मतगणना ढिला भएको बताउनुहुन्छ। ‘महानगरमा धेरै स्वतन्त्र उम्मेदवार छन्। गणनास्थलमा स्वतन्त्रका प्रतिनिधि धेरै राख्न पाइदैन भन्ने अन्य दलको भनाइप्रति स्वतन्त्र उम्मेदवार असन्तुष्ट छन्। त्यसैले मतगणना प्रारम्भ नै ढिला भयो’, उहाँले भन्नुभयो। मतपत्र ठूलो र छाप तलमाथि भएका कारण सबै राम्रोसँग हेर्नुपर्ने र सबै प्रतिनिधिलाई प्रस्टसँग देखाउनुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ छ। निर्वाचन आयोगले पाँच दिनभित्र सबै स्थानीय तहको मतपत्र गनिसक्न निर्देशन दिएको छ। तर, महानगरपालिकाको भने पाँच दिनभित्र गनेर नसकिने भएको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन्। ८६ हजार ५ सय ४० मत खसेको छ। मुख्य निर्वाचन अधिकृत शिवाकोटीका अनुसार एउटा मत गन्न सरदर तीन मिनेट लाग्छ। यसैले मतपरिणाम आउन ढिलो हुने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताउनुभयो। मतगणनास्थल बाहिर परिणाम सुन्नको लागि मतदातको बाक्लो उपस्थिति छ। मतगणनास्थलमा सुरक्षाकर्मीले सुरक्षा व्यवस्था पनि कडा पारेका छन्। मतपरिणामको प्रतिक्षा गरिरहेका मतदाता गणनाको परिणाम सार्वजनिक नहुँदा निरास देखिन्छन्। ललितपुर वडा नम्बर १४ का कृष्णप्रसाद रिमाल बिहान ९ बजेदेखि परिणाम सुन्न मतगणनास्थल बाहिर बस्नुभएको छ। ‘बिहान चाडै खाना खाएर मतपरिणाम सुन्नको लागि आएको एक चोटी मात्र परिणम सार्वजनिक गरे। त्यसपछि गरेकै छैनन्,’ उहाँले भन्नुभयो ‘कतिखेर मत परिणाम आउने हो थाहै छैन।’ यस्तै वडा नम्बर ३ का ७० वर्षीया मतदाता सुरेन्द्रबहादुर परियारको पनि उही गुनासो छ। उहाँ पनि मतपरिणाम सुन्नको लागि गणनास्थल बाहिर बसिरहनुभएको छ। ‘मतपरिणाम सुन्नको लागि बिहान ११ बजेदेखि बसिरहेको छु, खै अहिलेसम्म आएको छैन। अहिले त गणना नै रोकिएको छ भन्छन्। कहिले आउछ खै नतिजा ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो। अघिल्ले स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम भने छिटोछिटो आएको उहाँको सम्झना छ। भन्नुहुन्छ, ‘अघिल्लो स्थानीय तहको निर्वाचको परिणाम त छिटो आएको थियो। अहिले पनि छिटो आउछ कि भनेको झन् ढिला भएको छ।’ कर्मचारी बढाएर मतगणना छिटो गर्नुपर्ने उहाँको भनाइ छ। ललितपुरको २, ३ र ४ नम्बर वडामा मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार ललितपुर मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले १७४८ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का हरिकृष्ण ब्याञ्जनकारले ७१५ मत ल्याउनुभएको छ।
प्रधानमन्त्री देउवा लुम्बिनीमा
प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ।
गुल्मीको छत्रकोट-१ मा कांग्रेसको प्यानल विजयी
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय दस मतसहित पहिलो स्थान कायमै छ।
धादिङका २१ वडाको नतिजा : माओवादी सात, कांग्रेस छ, एमाले पाँच वडामा विजयी
मुरारी अधिकारीधादिङ, जेठ १ गते। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ। मतगणना भएको पालिका अन्तर्गत अहिलेसम्म २१ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।हालसम्म विजयी भएका वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सात जना रहेका छन्। नेपाली काँग्रेसका तर्फबाट छ जना वडा अध्यक्ष विजयी भएका छन्। नेकपा एमालेका तर्फबाट पाँच जना वडा अध्यक्ष विजयी भएका छन्। त्यसैगरी राप्रपाले दुई वटा वडा अध्यक्षमा जित हासिल गरेको छ। एकीकृत समाजवादीले एउटा वडामा जितेको छ। धादिङमा १३ वटा पालिका र १०४ वटा वडा रहेका छन्।
हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ।
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखरा, जेठ १ गते। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ। त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याउनुभएको छ।उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाउनुभएको छ। उहाँका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहनुभएको छ।
नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु भ्रमणको उद्देश्य हो : मोदी
काठमाडौं, जेठ १ गते। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ। वक्तव्यमा उहाँले भन्नुभएको छ, “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।” प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ सोमबार विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ। रासस
सर्लाहीका ३६ वडाको नतिजा : १५ वडामा काँग्रेसको जित
आइतबार साँझसम्म सर्लाहीको ३६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।