भूकम्पपीडितलाई एक लाख सहयोग
गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपियाँ सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो ।
कृषि गणना २०७८ : प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो ।
टिपरले किच्दा महिलाको मृत्यु
पाल्पामा टिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
पटका नपड्काउन धनुषा जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय धनुषाले पटाका नपड्काउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा २५ राष्ट्रका चिकित्सक सहभागी हुने
विश्व स्वास्थ्यका लागि आयुर्वेद भन्ने मूल नाराका साथ विभिन्न राष्ट्रका आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको बृहत् भेला आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।
सरकारको काममा जनताको ऐक्यबद्धता छ: गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउनु भएको छ ।
संसद् भवन निर्माण तीव्र
सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन निर्माण सक्ने दाबी मन्त्रालयले गरेको हो । मन्त्रालयले भवन निर्माणको प्रगति र आन्तरिक साजसज्जा (इन्टेरियर) को कामबारे मङ्गलबार सभामुख देवराज घिमिरेसहितका पदाधिकारीलाई जानकारी गराएको हो । हिउँदे अधिवेशनका बैठक नयाँ भवनबाट राख्ने गरी काम सम्पन्न गर्न यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे तथा सहरी विकासमन्त्री सीता गुरुङले ठेकेदारलाई पटक पटक निर्देशन दिनुभएको थियो ।
आर्थिक सहयोग जुट्ने क्रम जारी
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न राजनीतिक दलले आर्थिक सहयोग गरेका छन् । उद्धार कार्यमा पार्टी सङ्गठन परिचालन गरेका दलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पनि गरेका छन् ।
‘सरकारले घर बनाइदेओस्, अरू जोहो आफैँ गर्छौं’
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।
स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता
दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।
सहिद स्मृति कप फुटबल प्रतियोगिता सुरु
बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
वास्तविक भूकम्पपीडित ठगिने अवस्था नआओस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
भारतीय युवतीको डुबेर मृत्यु
तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविन रहनुभएको छ ।
‘मध्यरातको तीन सेकेण्डमा गाउँ नै रहेन’
यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए ।
नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने
विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।
जुवाखालमा छापा : २४ जना नियन्त्रणमा
तिहार नजिकिँदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
थ्रेसर मेसिनमा परी हात चुँडियो
बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको वडा नं २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिनुभयो ।
राहतको पर्खाइमा भेरी नगरपालिका-११ र १३ का भूकम्पपीडित
भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण राहतको पर्खाइमा बसेका छन् । जाजरकोटमा आएको राहत सामग्री वितरण गरिए पनि राहत नपाएपछि भूकम्पपीडित पर्खेर बसेका हुन् ।
सोह्रौँ योजनाका लागि प्रदेशगत छलफल सुरु
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेशगत रूपमा छलफल सुरु गरेको छ । योजना आयोगले कर्णाली प्रदेशबाहेक अरू छ प्रदेशमा योजना अनुरूप छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि टोली खटाएको जनाएको छ । आयोगले सोमबार बागमती र मधेश प्रदेशसहितका ठाउँमा छलफल सुरू गरेको जानकारी गरायो । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागिता रहेको थियो ।
तीन जना दोषी ठहर
विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ ।
बाँडियो आए जति राहत
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।
टिकटक प्रयोग गर्दा सावधानी अपनाऔँ
सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
पुतलीबाजे सेती किनारमा विलीन
पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
भारतीय थप राहत सामग्री नेपालगन्जमा
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।