कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी निर्वाचित
कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी निर्वाचित हुनुभएको छ । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई ५ हजार ४ सय ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका वैरागी र माओवादीका रामजी बराल जीवनको प्रतिस्पर्धालाई निकै रोचक ढङ्गले हेरिएको थियो ।
बाँके १ ‘क’ माओवादीकी केसी पुनः निर्वाचित
बाँके १ क बाट नेकपा (माओवादी केन्द्र)की नेत्री कृष्णा केसी लुम्बिनी प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।
बाजुरामा भोलि मतदान हुने, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै
मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बाँके १ मा एमोलका ढकाल विजयी
बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी हुनुभएको छ ।
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
कास्की ३ को (ख)मा कांग्रेसका बराल विजयी
कास्की क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गर्नुभएको हो ।
सर्लाही २ (क) मा कांग्रेसका राय विजयी
सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी
दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी हुनुभएको छ । पूर्व सिचाई मन्त्री समेत रहनुभएका गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी
रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोक १ को (ख) मा कांग्रेसका तीर्थबहादुर लामा विजयी
काभ्रेपलाञ्चोक जिल्लाको थप दुई प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थबहादुर लामाले नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर लामालाई तीन मतले पराजित गर्नुभएको छ ।
अछाम–२ ‘ख’ प्रदेशमा कांग्रेसका रावल विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावल विजयी हुनुभएको छ ।
सर्लाही ३ मा एमालेका उप्रेती विजयी
सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का हरि उप्रेती निर्वाचित हुनुभएको छ ।
५१ क्षेत्रको मत परिणाम आउन बाँकी
प्रतिनिधि सभाका तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
दाङ १ मा नेकपा एसका मेटमणि चौधरी विजयी
सहरी विकासमन्त्री मेटमणि चौधरी विजयी हुनुभएको छ । दाङ क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बन्नुभएको चौधरी पाँच हजार ८४ को मतान्तरसहित विजयी हुनुभएको छ ।
सधैँ नयाँ रोज्छन् भक्तपुरका मतदाता
कतिपय निर्वाचन क्षेत्रमा एउटै व्यक्ति र दलले निरन्तर निर्वाचन जितेको समाचार आइरहे पनि भक्तपुर निर्वाचन क्षेत्र नं. २ को निर्वाचनको इतिहासले भने फरक परिदृश्य देखाउँदै आएको छ । यस क्षेत्रका मतदाताले हरेक निर्वाचनमा फरक–फरक राजनीतिक दल र उम्मेदवारलाई अवसर दिँदै आएका छन् । यस पटकको निर्वाचन परिणामले पनि त्यस्तै परिदृश्य देखाएको छ । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि २०४८ सालदेखि २०७९ सालसम्मको आमनिर्वाचनसम्म यहाँका मतदाताले हरेक पटक फरक–फरक दललाई विजयी गराउँदै आएका छन् । भक्तपुर क्षेत्र नं. २ को मतपरिणामले पनि यस्तै देखाएको छ । गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा २४ हजार २३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश बस्नेत २३ हजार २८२ मत प्राप्त गरी पराजित हुनुभयो ।
कैलाली ५ (ख) कांग्रेसका देउवा विजयी
नेपाली कांग्रेसका प्रकाश देउवा प्रदेश सभा सदस्यमा विजयी हुनु भएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ (ख) बाट उहाँ प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो ।
महोत्तरी १ (ख) मा माओवादीका साह विजयी
महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो ।
दाङ १ (क) मा माओवादीका थारु निर्वाचित
दाङमा नेकपा माओवादीका इन्द्र जित थारु प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १ (क) बाट माओवादी केन्द्रका थारुले नेकपा एमालेका गङ्गाराम भट्टराईलाई एक हजार सात सय ७५ मतले पछि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
चितवन १ (ख) वाट समाजवादीका खनाल विजयी
चितवन १ (ख) वाट बागमती प्रदेश सभा सदस्यमा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ ।
चर्चित नेताहरू हार्ने क्रम जारी
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रत्यक्षतर्फको करिब ४० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । परिणाम सार्वजनिक भइरहँदा राजनीतिक दलका चर्चित नेता हार्ने क्रम जारी छ । बिहीबार अबेर रातिसम्म सार्वजनिक भएको परिणामबमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता बलबहादुर केसी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभएको छ ।
धादिङ क्षेत्र १ प्रदेश २ मा सालिकराम जम्कटेल विजयी
धादिङ क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्रका) नेता सालिकराम जम्कटेल विजयी हुनुभएको छ ।
रुकुमपश्चिम प्रदेशसभा (क) बाट माओवादी केन्द्रका महेन्द्र केसी विजयी
रुकुम पश्चिम प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी विजयी हुनुभएको छ । केसीले १९ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ मा कांग्रेसका बस्नेत विजयी
प्रतिनिधि सभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।
धादिङ १ मा समाजवादीका पाण्डे विजयी
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको छ ।