मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसक्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नुहुने भएको छ ।
शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।
निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो ।
कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेका छन् । निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो ।
बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् । शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ ।
नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो ।
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।
सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।
कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।