भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार मतदान गर्नुभएको छ । उहाँले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गर्नुभएको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ ।
शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।
तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।
कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गर्नुभएको हो । जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुग्नुभएको थियो । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।