काठमाडौं, वैशाख १ गते । मदनकृष्ण श्रेष्ठको नाम सुन्ने बित्तिकै हरिवंश आचार्यको मुहारको झल्को आइहाल्छ। विगत ४२ वर्षदेखि एकै जोडी बनी सहकार्य गर्दै आउनुभएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक अर्काको पहिचानलाई बोक्नुभएको छ । यो जोडी एउटा सानो संयोगले बनेको हो । अलगअलग प्रस्तुति दिन तयार हुनुभएका उहाँहरुले समय अभावका कारण एउटै प्रस्तुति दिनुपर्ने भएपछि ‘बैकेंश्वर’मार्फत मह जोडी जोडिएको बताउनुभयो । उहाँ आफूलाई गायक मदनकृष्ण श्रेष्ठ भनिदिए खुशी लाग्ने बताउनुहुन्छ । सुरुवाती दिनमा नेपाल भाषाको गीत संगीतबाट कलाक्षेत्रमा प्रवेश गर्नुभएका मदनकृष्णले धेरै मातृभाषाको गीत गाउनुभएको छ, जुन आजसम्म पनि त्यो समुदायमा चर्चित छन् ।प्रत्यक्ष अप्रत्यक्ष आफ्नो प्रस्तुतिले व्यवस्था परिवर्तन गर्नेदेखि लिएर जनचेतना विकासमा केही न केही सहयोग पुगेको कुरामा विश्वास गर्नुहुन्छ । कलाक्षेत्रले समाज रहेका कुसंस्कारलाई पखाल्ने कुरामा धेरै टेवा पुग्ने उहाँको भनाइ छ । साथी ‘भर’ हो भन्ने उहाँ राम्रो साथी जीवन सफल हुने कुरामा विश्वास गर्नुहुन्छ ।