काठमाडौं, वैशाख १५ गते। वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई उडान स्थगन गर्ने जनाएको छ। संघका सदस्य वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुर्ण एयरलाइन्सले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडान स्थगन गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका हुन्। प्राधिकारणले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडानको तालिका राखेको छ। वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या हुने बताउनुभएको छ। रातिको ८ बजेपछि नियमित उडान गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। प्रवक्ता कँडेलद्वारा जारी विज्ञप्तिमा कम्पनीले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगन गर्ने उल्लेख छ। साथै यात्रुमा पर्न जाने असुविधा प्रति पनि संघले क्षमायाचना गरेको छ।
नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरी बिहीबार देखि ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ। पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बरका पदाधिकारीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्।
बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र एसिायली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी नेपाल पौडी संघले वैशाख २२ र २३ गते खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।
काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ। बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो। खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो। फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका दशमध्ये पाँच वटा पालिकामा प्रमुख/अध्यक्ष/उपाध्यक्ष पदमा सात जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ ।
नेपालगञ्ज, वैशाख १५ गते । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेमा अहिले तातो हावा ‘लु’ र प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त छ । यस्तो प्रचण्ड गर्मीको बेला बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह यातनागृहमा परिणत भएको छ । अत्यधिक गर्मीमा क्षमता भन्दा करिब तेब्बर बालकहरु सो बालसुधार गृहमा कोचाकोच गरेर राखिएकाले उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । सो बालसुधार गृहमा प्रचण्ड गर्मीको समयमा पनि एकै कोठामा ७३ देखि ८३ जनासम्म बालकलाई कोचाकोच राखिएको छ । बाँकी रहेका बालकहरु साना कोठामा र केही शौचालय अगाडिको भागमा सुत्ने गरेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताउनुभयो । उहाँले ७० जनाको क्षमता भएको सो बालसुधार गृहमा अहिले १८३ जना बालक रहेको बताउनुभयो । ‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ काउचा मगरले भन्नुभयो, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापन गर्न निकै समस्या छ ।’अत्यधिक गर्मीको बेला पनि बालसुधार गृहमा क्षमताभन्दा तेब्बरजति बालक राख्दा बसाइ साह्रै कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले बताउनुभयो । ‘एउटै कोठामा धेरैजना बस्दा बालसुधार गृहमा छालासम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘सुधारगृहका ५० भन्दा बढी बालकमा यस्तो सङ्क्रमण पुष्टि भएको छ ।’ सुधारगृहमा रहेका १८३ बालकका लागि चार वटा मात्र शौचालय छन् । बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यताले धेरै कष्ट उठाउनुपरेको छ । त्यहाँ ढलको व्यवस्थापन हुन नसक्दा भान्सापछाडि ढलको पानी गन्हाउने, अत्यधिक लामखुट्टे लाग्ने गर्दा सुधारगृह यातना गृह बनेको बालकहरुले नै बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ ।
प्रतीक शर्मासल्यान, वैशाख १५ गते । यही वैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आइपुगेको हो । मतपत्र जिल्लामा पुगिसकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिएपछि मतदान सामग्रीसहित सबै स्थानीय तहमा पठाइनेछ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अबको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टाछुटै प्याकेज बनाएर सबै मतदानस्थल र मतदान केन्द्रमा पठाइने बताउनुभयो । उहाँका अनुसार जिल्लामा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसमा पुरुष मतदाता ७९ हजार ९०४ छन् भने महिला मतदाता ७७ हजार ८११ रहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।बिहीबार वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे ।