चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ । चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
नेदरल्यान्डको लाइदेनमा भइरहेको १४ औँ ‘इन्टरनेसनल एयर ल मुट कोर्ट’ प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्डको लाइदेन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको सेमिफाइनलमा प्रस्तुति दिन चार सदस्यीय नेपाली टोली लाइदेन पुगेको छ । टोलीमा अधिवक्ता अनिता शर्मा केसी प्रशिक्षकका रूपमा रहनुभएको छ भने कानुनका विद्यार्थीहरू यशस्वी केसी, कोपिला खतिवडा र क्षितिज पराजुली प्रतियोगी रहनुभएको छ ।
नेपाली लोक सङ्गीतको क्षेत्रमा स्याङ्जाका लोक कलाकारको प्रभाव बढ्दै गएको देखिन्छ । स्याङ्जाका पुराना कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायतले लोक सङ्गीतका क्षेत्रमा आफ्नो उचाइ बढाउनुभएको छ ।
नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । ‘उत्कृष्ट अभिनेता’ मा दयाहाङ राई, विपिन कार्की, दीपकराज गिरीसँगै अनमोल केसी र प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ । अभिनेतृतर्फ अरुणा कार्की, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्का र मिरुना मगरबीच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र ‘फूलबारी’ बाट कार्की, ‘कबड्डी ४’ बाट राई, ‘छक्कापन्जा ४’ बाट गिरी, ‘ए मेरो हजुर ४’ बाट केसी र ‘प्रकाश’ बाट खड्का उत्कृष्ट अभिनेताका लागि मनोनयनमा पर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीलाई राष्ट्रिय नायकका रूपमा स्थापित गर्न सरकारबाट गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लोक साहित्य परिषद्ले आफ्ना प्रमुख संस्थापक एवं वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो । सोही कार्यक्रमको समापनमा उपप्रधानमन्त्री श्रेष्ठले जोशीले स्थापना गरेको लोकसाहित्य परिषद्को निरन्तरताका लागि पनि पहल गर्ने बताउनुभयो । समापन कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शताब्दीपुरुष जोशीका बारेमा तयार पारिएको सुनगाभाको विशेषाङ्क पनि विमोचन गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।
दाङमा पानी उद्योगमा करिब १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु-याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ रुपियाँ लगानी गरेका छन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार एक सय रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विव्रmम केसीले जानकारी दिनुभएको छ । अधिकृत केसीका अनुसार उद्योगहरूको स्थिर पुँजी नौ करोड २३ लाख २७ हजार सात सय २३ रुपियाँ रहेको छ ।
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ । जेठको दोस्रो हप्तादेखि रोपाइँ सुरु हुने मार्सी खेतको खनजोत सुरु भएको हो । स्थानीय मानबहादुर खत्रीले धान उत्पादन वृद्धिका लागि रोपाइँअगाडि खनजोत गर्ने गरेको बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अझै ३२ वर्ष पुरानो ऐनबाट सञ्चालित भइरहेको छ । ३२ वर्षअघि बनेको कृषि अनुसन्धान परिषद् २०४८ लाई संशोधन गर्न पटक पटक प्रयास पनि भयो तर अझै भएको छैन । सो ऐन २०४८ वैशाख २५ गते प्रमाणीकरण भएको थियो । त्यसपछि २०५३ मा सो ऐनलाई संशोधन ग-यो ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वडाध्यक्षहरुले राखेको मागको सम्बोधन गर्नुभएको छ ।
मिटरब्याजीविरुद्ध उजुरी दिनका लागि जिल्ला प्रशासन कार्यालयमा अहिले भिड बढेको छ। अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले आवेदन माग गरेपछि उजुरी दिने पीडितको सङ्ख्या थपिँदै गएको हो।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी थालिएको छ। कार्यव्यवस्था परामर्श समितिले आगामी जेठ ४ गते चालु अधिवेशनमा पहिलो प्रश्नोत्तरको तयारी गरेको छ तर सोही दिन प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले समेत विशेष समयमा बोल्ने यसअघि नै घोषणा गर्नुभएकाले औपचारिक टुङ्गो भने भएको छैन। एमाले अध्यक्ष ओलीले विशेष समय नलिएमा जेठ ४ गते नै प्रश्नोत्तर हुने छ। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीले बोल्ने तयारी भए पनि औपचारिक रूपमा टुङ्गो नलागेको बताउनुभयो। यसअघि सङ्घीय संसद्को पहिलो कार्यकालमा पनि एक पटक मात्र प्रश्नोत्तर भएको थियो। प्रधानमन्त्रीलाई सांसदले प्रत्यक्ष रूपमा प्रश्न गर्न पाउने नियमावलीको व्यवस्था अनुसार तत्कालीन प्रधानमन्त्री ओलीसँग एक पटक प्रश्नोत्तर भएको थियो।
बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।