• १३ साउन २०८१, आइतबार

घट्यो विदेशी लगानी

blog

काठमाडौँ, जेठ १ गते । चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ । चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । 

साना उद्योगमा मात्र लगानी प्रतिबद्धता आएको छ । ठुला र मझौला उद्योगमा लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ । विभागका अनुसार वैशाख महिनामा सबैभन्दा धेरै  सेवामूलक परियोजनामा १३, पर्यटन उद्योगमा आठ, सूचना प्रविधिमा आधारित तीन, पूर्वाधारमा दुई परियोजनामा लगानी प्रतिबद्धता आएको छ । 

वैशाख महिनामा २८ परियोजनामार्फत एक हजार २७२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ । वैशाख महिनामा १३९ बिजनेस भिसा, ४७ प्रतिनिधि लक्षित गरेर ११५ वटा भिसा सिफारिस गरिएको विभागले जनाएको छ । 

चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको साउन महिना मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

भदौ महिनामा तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँको लगानी प्रतिबद्धता भएको छ । यस्तै असोज महिनामा एक अर्ब ८५ करोड ४७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा तीन अर्ब ६५ करोड रुपियाँ, मङ्सिर महिनामा ८० करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएको छ । विभागका अनुसार पुस महिनामा चार अर्ब ८५ करोड २० लाख रुपियाँ, माघ महिनामा एक अर्ब ३९ करोड र फागुन महिनामा एक अर्ब ९२ करोड २९ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले साना साना परियोजनामा लगानी आएकाले वैशाख महिनामा वैदेशिक लगानी प्रतिबद्धता कमी आएको हो । चैत महिनामा एउटै परियोजनामा पाँच अर्ब लगानी प्रतिबद्धता आएकाले लगानी बढेको उहाँले जानकारी दिनुभयो । 

विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको बताउनुभयो । रुस–युक्रेन  युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको उहाँले जानकारी दिनुभयो । भिसामा कडाइ गरिएका कारण पनि लगानी प्रतिबद्धता कम आएको विभागको भनाइ छ । 

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सो अनुसार लगानी आउन नसकेको विभागले जनाएको छ । गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएकोे छ । सुरुदेखि हालसम्म चार खर्ब ४९ अर्ब ९६ लाख १३ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको बताइएको छ ।