भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकका दुर्गम गाउँका स्वास्थ्य चौकी आठ वर्षपछि निर्माण सम्पन्न हुन थालेका छन्। २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले जिल्लाका स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको थियो। यस जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१, घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख रुपियाँको लागतमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि उक्त स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो।
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।
नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार सम्पन्न कोषको २८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जनाइएको छ ।
आन्तरिकतर्फको हवाई भाडामा सोमबारदेखि १३ प्रतिशत अतिरिक्त मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था अनुसार नयाँ आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर लाग्ने भएको हो। सोमबारदेखि आन्तरिकतर्फको हवाई टिकट छदेखि नौ प्रतिशतसम्म बढ्ने भएको छ।
आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनुभएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।
पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको स्क्रिनिङ्गका लागि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले ग्रामीणस्तरमा सञ्चालन गरेको दुईवटा शिबिरबाट पाँच सयभन्दा बढी सर्वसधारणले लाभ लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले गैरकृषकलाई चार लाख रुपियाँ भत्तावापत वितरण गरेको खुलेको छ । आर्थिक बर्ष २०७९–८० को बार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पचासभन्दा माथि भेडाबाख्रा पालन गरेका कृषकलाई वितरण गर्नुपर्ने रकम गैर कृषकलाई वितरण गरेको पाइएको हो ।
गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा कमला न्यौपानेको शब्द, येदिन गजमेरको संगीत रहेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो।