• ७ मंसिर २०८१, शुक्रबार

विकास त्यसै हुँदैन; हिलो छुनु पर्छ; धुलै, फुस्रै हुनु पर्छ

blog

पूर्वी नेपालको पुरानो बजार धरान अहिले चर्चामा छ। यो चर्चाको कारण धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र उहाँले चलाउनुभएको श्रमदान अभियान हो। न कुनै सङ्गठन, न सेलेब्रिटी, न धनाढ्य नै तर पनि एक दशकदेखि सामाजिक अभियन्ताका रूपमा धरानका जनताको समस्या उठाउँदै आउनुभएका राई अहिले पनि जनतासँगै श्रममा जुट्नुभएको छ। उहाँले विमान स्थल, सर्दु जलाधार क्षेत्रको संरक्षण, बसपार्क, खानेपानीलगायतका पूर्वाधार विकासलाई अहिले पनि प्राथमिकताका साथ उठाइरहनुभएको छ। सरकारको लगानी बिना नै श्रमदानबाट र जनताको आर्थिक सहयोगबाट नै धरानको खानेपानी समस्याको समाधानमा अकल्पनीय काम गर्नुभएको छ। प्रस्तुत छ, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईसँग गोरखापत्रका निशा राईले गर्नुभएको कुराकानीको सम्पादित अंश : 

तपाईं एक सामाजिक अभियन्ता, धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा प्रमुख पदमा एक पटक हारेको मान्छे, अहिले नगर प्रमुख बन्नुभएको छ। अब अगाडि कसरी बढ्नुहुन्छ ? 

सामाजिक अभियन्ता भएर काम गरेर मात्र जनताका समस्याको सुनुवाइ भएन। त्यसैले चुनाव लडेँ। पहिले पनि धरानवासीकै समस्या उठाएँ। धरानको मुख्य समस्या खानेपानी नै हो। यो समस्या समाधान गर्न र समग्र धरानको विकास गर्न नगर प्रमुख बन्नु नै पर्छ भन्ने लागेर जनतासामु गएको हुँ । २०७६ सालको उपनिर्वाचनमा मलाई जनताले पत्याएनन्, अहिले पत्याए। म अहिले पनि नगर प्रमुख बनेर मात्र बसेको छैन हिलै, धुलै र फुस्रै भएर धराने जनताको सेवामा लागिपरिरहेको छु। हरेक ससाना समस्यालाई म आफैँ लागेर समाधान गर्ने कोसिस गरिरहेको छु र यो जीवनभर यसरी नै जनताका लागि समर्पित गरिरहने छु। 

तपाईंले चुनाव जितेको पनि एक वर्ष पूरा भइसकेको छ ? यो एक वर्षमा के कति उपलब्धि हासिल भए ? 

गएको एक वर्षमा के–के उपलब्धि भए भनेर मैले भन्नुभन्दा पनि जनताले भनून्। मेरो तर्फबाट सकेको कोसिस गरेँ, धराने जनतालाई खानेपानीको अभाव नहोस् भनेर जनताकै सहयोगमा धरान वरपरका खोलानालाबाट पानी ल्याएँ। पानीभन्दा पनि धराने जनतालाई मात्रै होइन, अन्य ठाउँका जनतालाई पनि श्रमदान गर्न सिकाए, आफ्नो गाउँ ठाउँ आफैँ बनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरेँ। यो नै गएको एक वर्ष र मेरो जीवनको ठुलो उपलब्धि हो। 

चुनावमा गरेको प्रतिबद्धता कति पूरा भयो ? आगामी वर्षका योजना के के छन् ? 

मेरो मुख्य चुनावी एजेन्डा धरानको खानेपानीको समस्या समाधान नै थियो। त्यसका लागि निरन्तर लागि परेँ। सप्तकोशीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने प्रतिबद्धता गरेको थिएँ। अहिले सङ्घीय र प्रदेश सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ। सरकारको लगानी बिना नै जनताको सहयोगबाट नै अल्पकालीन रूपमा धरानको खानेपानी समस्या समाधान गर्ने प्रयास भयो। हरेक बिहीबार सफाइबार, शुक्रबार सुधारबार र शनिबार श्रमबारको अवधारणा सुरुवात गरेको छु। आगामी वर्षहरूमा मुख्य रूपमा धरानमा खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने योजना छ। साथै कषि, उद्योगलाई बढाएर लैजाने योजना छ। धरानमा आन्तरिक राजस्वलाई पनि बढाएर लैजाने छ। 

धरान न व्यापारिक सहर न औद्योगिक सहर नै बन्यो। कृषिको पनि ठुलो हिस्सा छैन। धरानलाई कस्तो सहर बनाउने सोच राख्नुभएको छ ? धरानको विकासका लागि के कस्ता योजना ल्याउनुहुन्छ ? 

धरानमा उद्योगधन्दा खोल्नु पर्छ, यसका लागि काम सुरु पनि भइसकेको छ। धराने माया साबुन, बेसार फ्याक्ट्री खोलिसकेका छौँ। कृषिमा पनि जोड दिँदै जाने योजना छ। कौसी खेती र करेसाबारी बनाउन धरानवासीलाई प्रोत्साहन गर्नु पर्छ। यसका लागि चाहिने गमलालगायतका सामान आफैँ उत्पादन गर्नेसम्मको योजना लिएर अगाडि बढ्ने छौँ। 

धरान पूर्वी नेपालको पुरानो बजार, सहर भएर पनि भौतिक पूर्वाधार राम्रो छैन। सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पर्याप्त काम हुन सकेको छैन। यी क्षेत्रमा के–कस्ता योजना बनाउनुभएको छ ? 

नेपाल बहुजाति, बहुभाषी राज्य मात्र हैन भौगोलिक हिसाबले पनि विविधतायुक्त छ। हिमाल पहाड तराइ मिलेर बनेको राज्य हो नेपाल। तसर्थ गाउँ बस्ती, उकालो, ओरालो भिरालो गाउँ धरानमा पनि छन्। त्यसका पर्याप्त समय र बजेट चाहिन्छ। यो एक वर्षको अवधिमा केही काम भएका छन्, यसलाई निरन्तरता दिइने छ र धरान उपमहानगरपालिकाको पूर्वाधार क्षेत्रको विकास चाँडै हुने छ। 

धरानमा समस्या धेरै छन्, तर स्रोतसाधन कम छ। धरानको आफ्नै स्रोतको आय कम छ। यसलाई कसरी अगाडि बढाउने लक्ष्य लिनुभएको छ ? 

कलकारखाना, उद्योग व्यवसायलाई बढाउँदै लैजाने लक्ष्य छ र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ। रोजगारीमुलक तालिम पनि प्रदान गर्दै आएका छौँ। वैदेशिक रोजगारीबाट फर्किएका, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई स्वदेशमै बसेर काम गर्न सकिने सिप नगरपालिकाले दिँदै आएको छ। 

आव २०८०/८१ को बजेटमा के कस्ता प्राथमिकता र बजेट विनियोजन गर्नुभएको छ ? 

आव २०८०/८१ का लागि एक अर्ब ७१ करोड रुपियाँको बजेट पारित भएको छ। यो बजेट गत वर्षको तुलनामा अलि धेरै हो। यसमा मुख्य रूपमा खानेपानीलाई जोड दिएका छौँ तथापि स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सामाजिक विकास विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। 

धरानको विकासमा प्रदेश र सङ्घीय सरकारको सहयोग कस्तो छ ? 

म स्वतन्त्र उम्मेदवार हो, मलाई सहयोग गर्दिन भन्न पाउनुहुन्न। हालसम्म सङ्घीय र प्रदेश सरकारबाट सहयोग पाइरहेको छु। यसपालि प्रदेश सरकारबाट धरानको मुख्य समस्या खानेपानीका लागि पनि बजेट विनियोजन भएको छ ।

तपाईं स्वतन्त्र उम्मेदवारबाट नगर प्रमुखमा हुनुहुन्छ, कार्यपालिका सदस्यहरू अलग अलग पार्टीबाट निर्वाचित हुनुहुन्छ, कार्यपालिका बैठक, नगर सभा जस्ता कार्यमा जहिले पनि बेमेल हुन्छ, यसले धरानको विकासमा असर परिरहेको आमनागरिकको गुनासो छ। यसलाई कसरी लिनुभएको छ ? 

हामीबिच बेमेल, विवाद हुन्छन् तर बेमेललाई कार्यपालिका बैठकबाटै छलफल गरी निष्कर्षमा पुग्छौँ। स्वतन्त्र वा अन्य कुनै पार्टीबाट आए पनि हामी सबै कार्यपालिकामा आएका जनप्रतिनिधि हौँ। हामी सबैसँग नियम, कानुन, हक, अधिकार, दायित्व छ। हामी आआफ्नो क्षेत्राधिकारमा बसेर काम गरिरहेका छौँ। हामीले चुनाव लड्दा पार्टीको नभई जनताका लागि लडेका हौँ। निर्वाचित भएर आइसकेपछि जनताका लागि काम गर्नुपर्छ। बेमेल सबै क्षेत्रमा हुन्छ, धरान अछुतो छैन। हामी मिलेर नै धरान र धराने जनताको विकासमा खटिएका छौँ।

तपाईं अरूको कुरा नसुन्ने, आफ्नै कुरा मात्रै ठिक भन्ने र धरान उपमहानगरपालिका आफ्नै मात्र हो भन्ने जिद्धी स्वभावको प्रमुख हो भन्ने आरोप छ नि ? 

मसँग आफ्नै स्पष्ट भिजन छ, म लिडर हो, जनताको ठुलो साथ सहयोग छ, मेरो भिजन सही भएर त जनताले सहयोग गरिरहेका छन्, नत्र गर्ने थिएनन्। विज्ञको राय सल्लाहबिना यहाँ आइपुगेको छु, राय सल्लाह सुझाव लिँदा झनै अलमलिन्छु पो। चुनाव ताका मलाई विज्ञहरूले चुनाव नलड, त हार्छस् भनेका थिए। म त्यही कुरा मानेको भए आज म यहाँ हुने थिइन् होला सायद। म जिद्दी स्वभावकै छु, गर्छु भनेपछि गरेरै छाड्छु। म जिद्दी स्वभावकै भएकाले नै एक दशकदेखि सामाजिक अभियन्ताका रूपमा जनताको घरदैलोमा जनताको ससाना समस्या समाधान गर्न लागि परेको व्यक्ति हो। धरानको मुख्य समस्या खानेपानी र  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाए। धरानको विकास गर्छु भनेसी गर्छु। कराएर, विरोध गरेर, आन्दोलन गरेर मात्र विकास हुँदैन भन्ने थाहा भएर नै म यता लागेको हुँ। विकास त्यसै हुँदैन हिलो छुनु पर्छ, धुलै फुस्रै हुनु पर्छ। यो आफैँबाट सुरुआत गर्नु पर्छ भनी म आफू खटिएर सारा नेपाली जनतालाई श्रम गर्न सिकाइरहेको छु। यसरी नै बिस्तारै धरानको विकास हुन्छ।