राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको छ ।
जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग र सहायक सडकको निर्माण, मर्मत तथा अवरुद्ध सडक मर्मत हुन नसक्दा उपभोक्ताहरू मारमा परेका छन् । वर्षा कम भएसँगै तत्काल सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडीसम्बन्धी प्रदर्शनी हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा समावेश हुने जनाइएको छ ।
एनआईसी एसिया बैङ्कले भिडियो ग्राहक पहिचान फाराम (केवाईसी) सेवा दिन सुरु गरेको छ । ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यो बैङ्कले ग्राहक पहिचानसम्बन्धी विवरण सङ्कलन तथा अद्यावधिक गर्न सकिने सो सेवाको शुभारम्भ गरेको हो । बैङ्कमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले ग्राहक पहिचानसम्बन्धी विवरण बैङ्कलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर लगाउने गरेका छन् । यसलाई नेपाल सरकारले स्वीकृति भने दिएको छैन । कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार यो धानको बीउ प्रतिबन्धित छ । भारतबाट अवैध रूपमा भित्रिएको यसको बीउ ‘शिथ ब्लाइट’ नामक रोगबाट सङ्क्रमित भएको पाइएको छ । यही कारण यो प्रजातिको धान नलगाउन कृषि विज्ञले आग्रह गर्दै आएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले एसटीसी ब्रान्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । आमउपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यका साथ कर्पोरेसनले हेटौँडामा रहेको नेपाल वनस्पति उद्योग लिमिटेडबाट तेल उत्पादन गर्ने भएको हो । कर्पोरेसनको ६०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
मिथिला येँ आर्ट ग्यालरी ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी चलिरहेको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसन, कला तथा संस्कृति विभागद्वारा आयोजित यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनीमा नेपाल भारत, फ्रान्स र बङ्गलादेशका १९ जना कलाकारका सिर्जना राखिएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले प्रदर्शनीमार्फत नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्मै जोड्न विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि चुम्न सफल हुनुभएको छ। उहाँले मिस ग्रान्ड इन्टरनेसनलको दसौँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। वर्षा भण्डारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप हुनुभएको छ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम माग गरेको छ । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक सो कम्पनीले आगामी असोज ४ गतेदेखि बाँकी रकम सङ्कलन गर्ने भएको हो । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनमा नेपाल १४३औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १४४औँ स्थानमा थियो । सोमबार आयोजित कार्यक्रममा यूएनडीपीले ‘अनिश्चित समय, अस्थिर जीवन ः परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा तयार गरेको मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिक गरेको हो । प्रतिवेदनमा विशेष गरी शिक्षा, स्वास्थ्य, औसत आयु, प्रतिव्यक्ति आयजस्ता विषयलाई केन्द्रमा राखिएको छ । नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको छ । १९१ मुलुकमध्ये पहिलो स्थानमा रहेको स्विजरल्यान्डको मानव विकास सूचकाङ्क ०.९६२ रहेको छ ।
यहाँका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। जिल्लाको नारायण नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका–८ ले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। आइतबार नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार नारायण नगरपालिकाको विकासको मार्गमा अगाडि बढेको बताउनुभयो। उहाँले नारायण नगरपालिकालाई स्वच्छ, सुन्दर व्यवस्थित, विभेदरहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताउनुभयो।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले नगरपालिकाले आयोजना गर्ने कार्यक्रम बहिष्कार गर्ने जनाएका छन्। नगरप्रमुखले समन्वयबिनै कार्यक्रम गरेको भन्दै उनीहरूले आफ्नै नगरपालिकाका कार्यक्रम बहिष्कार गर्ने जनाएका हुन्। आफूहरूसंग समन्वय नै नगरेर नगरप्रमुख महेन्द्र केसीले महत्वपूर्ण कार्यक्रम र निर्णय गर्न थालेपछि समन्वयबिनाका कार्यक्रम बहिष्कार गरेको नगर उपप्रमुख विमलकुमार पुनले बताउनुभयो। अधिकांश कार्यक्रमबारे आफूहरूले पछि मात्र सूचना पाउने गरेको उहाँले जनाउनुभयो। नगरपालिकाबाट हुने कार्यक्रममा नगरप्रमुखले आफूहरूसँग समन्वय नगरेको, कार्यपालिकाको निर्णय किर्ते गरेको, आवश्यकताभन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको जस्ता आरोप उनीहरूले लगाएका छन्।
मंगलबारको मौसम देशभर सामान्य देखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।