सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।
दार्चुला तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दार्चुला आउँदै हुनुहुन्छ ।
स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उहाँले कसैको कुरा सुन्नुभएन ।
धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पाल्पामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी–५, गेझा बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहनुभएको छ ।
नेपाली कांग्रेसको मधेश प्रदेश समितिको प्रथम सम्मेलन आजबाट सुरु हुने भएको छ । पुस ५ र ६ गते अर्थात् बिहीबार र शुक्रबार दुई दिन हुने कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको समुद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।
कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।
“सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।”
उन्नत नस्लको बहर पालेर मनग्गे आम्दानी गर्दै आउनुभएका स्थानीय किसान कमलापति भट्टलाई बहरको हाडनाता छुट्याउन भने समस्या भएको छ। छ वर्षअघि भारतको पिथौरागढबाट महाकाली नदी तारेर बैतडी ल्याइएको होलेस्टाइन जातको कल्लु नाम गरेको बहरले चार वर्षमा हजारौँ गाईलाई गर्भाधान गराएको छ। दशरथचन्द नगरपालिका–५, रिचपला गाउँमा रहेको कल्लुले दैनिक तीन/चार वटा गाईलाई गर्भाधान गराउँदै आएको जानकारी उहाँले दिनुभयो । गाईपालक किसानको माग अनुसार घरमै पुगेर सेवा दिने गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
टीकापुर नगरपालिका–५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाउनुभयो । औषधी उपचार गर्दा पनि निको नभएपछि सिकलसेल भएको थाहा भयो । उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ । भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ । भजनी नगरपालिका–१, गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो ।