काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ। कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको छ, “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ।
रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
पौडी खेल्नेक्रममा तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो तिनाउ गाउँपालिका –३, स्थित तिनाउ ड्याममा पौडी खेल्नेक्रममा गुल्मीको सत्यवती गाउँपालिका –७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताको प्रतिरक्षा राजनीतिक दलले गर्नु नहुने बताउनुभएको छ।
सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताउनुभएको छ । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएपछि सो उमेरहद हटाउने निर्णय भएको उहाँको भनाइ छ ।
कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना भएको छ। कर्णाली करिडोरको मयगाड सडकखण्डमा ट्याक्टर कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यसम्बन्धी सेवा लिन भारत जाने नेपाली नागरिकलाई भारतीय नागरिकजस्तै स्वास्थ्यसम्बन्धि सेवामा सुविधा दिने वातावरण बनाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
अभिषेक बास्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि जित्नुभएको छ ।
आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा १२:४५ बजे सुर हुने खेलमा नेपाल मान्यता प्राप्त घरेलु टोलीलाई हराउने लक्ष्यमा छ ।
गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वर रहेको पञ्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक भएको छ। म्याग्दीमा जन्मे हुर्केका गायक रसाइली र सङ्गीतकार प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ।
कालीकोटमा बालविवाह रोक्न विभिन्न सामाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । आज शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ ।