संवैधानिक कानुनका ज्ञाताले संविधानतः आलङ्कारिक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा पुनः छलफलका लागि पठाउन सक्ने बताउनुभएको छ । तथापि अघिल्लो सरकारले यस्तै अध्यादेश जारी गर्दा राष्ट्रपतिबाट तत्काल जारी भएकाले उहाँमा नैतिक प्रश्न भने रहेको उहाँहरूले बताउनुभएको छ । संविधानविद् डा. भीमार्जुन आचार्य र डा. युवराज सङ्ग्रौलाले संविधानको संरक्षकका रूपमा राष्ट्रपतिले विधेयक संसद्मै फिर्ता पठाउन सक्ने बताउनुभएको हो । डा. आचार्यले भन्नुभयो, “व्यवस्थापिका संसद् वा कार्यपालिकाले गरेको कुनै विषय राष्ट्रको अहित र संविधानको अनुकूल भएन कि भन्ने लाग्यो भने त्यसमा भिन्न मत दिने र त्यसलाई फेरि फिर्ता पठाउने कुरालाई अन्यथा मान्न मिल्दैन । त्यो अधिकार राष्ट्रपतिलाई छ ।”
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक अब उत्पति भएको सदन अर्थात् प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार अब फिर्तापछिको प्रक्रिया अवलम्बन हुनेछ । नियमावलीले सदन चालू रहेको अवस्थामा र नरहेको अवस्थामा नियमावली फिर्ताका दुवै फरक व्यवस्था गरेको छ । अधिवेशन नरहेको अवस्थामा सूचना पत्रबाट जानकारी गराइनेछ । हाल अधिवेशन रहेकाले सदनमा जानकारी दिइनेछ ।
भेरीगङ्गा नगरपालिका–१० छिन्चु, झिलेमिलेमा शीतभण्डार बनेपछि पूर्वी सुर्खेतका किसानलाई बीउ तथा बिक्रीका लागि राख्ने उत्पादन भण्डारण गर्न सहज भएको छ । शीतभण्डार नहुँदा यहाँका किसान कोहलपुर तथा नेपालगञ्जका शीतभण्डार धाउनुपर्ने बाध्यता थियो । साना किसान कृषि सहकारी संस्थाले निर्माण गरेको दुई सय मेट्रिक टन क्षमताको साना किसान कोल्ड स्टोर सञ्चालन आएपछि विशेष गरी भेरीगङ्गा नगरपालिका, लेकबेँसी नगरपालिका, गुर्भाकोट नगरपालिका तथा यस आसपासका किसानलाई निकै राहत भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकासे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन प्रवद्र्धनका लागि करिब चार करोड रुपियाँ रकम खर्च भएको छ । जिल्लाको विभिन्न स्थानमा ट्राउट माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट १२ वटा फार्मलाई तीन करोड ९६ लाख ५९ हजार रुपियाँ अनुदान वितरण गरिएको हो ।
हालसम्म पर्वतारोहण नभएका नयाँ हिमाल आरोहण गर्न अनुमति दिने तयारी भइरहेको छ । आइतबार नेपाल पर्वतारोहण सङ्घको ३२औँ साधारण सभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हाल प्रयोगमा नआएका हिमाल आरोहणका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्युठानको नौबहिनी गाउँपालिका– ६ बहाने नजिक खहरेखोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकैघरका दुई नावालिकासहित ३ जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरको पर्खालबाट सन् १९९५ मा हराएको शिवको मूर्ति फिर्ता ल्याइएको छ। दुई साधुका बीचमा उभिएको शिवको वर्गाकार आकारमा रहेको प्रस्तर मूर्ति ११औँ शताब्दीको मानिन्छ। त्यस्तै १४औँ शताब्दीतिरको मानिएको काठको कलात्मक सालभञ्जिका टुँडालसमेत फिर्ता भएको छ। सो टुँडाल काठमाडौँ महानगरपालिका–२४ स्थित इटुम्बहाल महाविहारबाट सन् १९८५ तिर हराएको थियो।
वर्षाको समय गाउँ छेवैको नदीमा बाढी आउँदा निकै खुसी हुन्छन्। धमिलो पानी छचल्किँदो छाल झन्डै वारपार गर्दै उर्लिंदै आउँछ गमगाढखोला। यही धमिलो पानीमा यहाँका समुदाय निकै खुसी हुन्छन्। गमगाढले माथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ। हुल्का–हुल मानिस खोलामा पस्छन्। गमगाढले पनि मसिनो र राम्रो बालुवा छेउछेउमा ल्याएर छाड्छ।
लामो राजनीतिक उतारचढावबीच तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको बहिगर्मनपछि बनेको वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले एक वर्षमा ५२ वटा महìवपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । २०७८ साउन २८ गते लुम्बिनी प्रदेश सरकार परिवर्तन भएको थियो । त्यसलगत्तै असोज २० मा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट कार्यान्वयनमा ल्याउनुु, आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर र राष्ट्रिय कुल गार्हस्थ्यमा १४.१ प्रतिशत योगदान रहनुुलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ ।
सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर लामो समयदेखि थन्किँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको छ। प्रदेश सरकारले उपलब्ध गराएको आईसीयू र भेन्टिलेटर दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन। दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आईसीयू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पु-याएका थिए। त्यसपछि केही समय आईसीयू र भेन्टिलेटर थन्काएर राखियो। पछि मर्मत गरेर प्रयोगमा ल्याए पनि अक्सिजन लिक हुने समस्या आएपछि पुनः थन्काएर राखिएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।
सप्तकोसीमा पानीको बहाव घटेपछि तटीय क्षेत्रका विस्थापित परिवार घर फर्किन थालेका छन् । यसअघि साउन १८ गते बिहान आएको ठूलो बाढीका कारण ‘ओभर फ्लो’ भएर सप्तकोसी नदीको एक भँगालो आफ्नै पुरानो धारमा बग्न थालेपछि करिब पाँच सय घरपरिवार विस्थापित हुन पुगेका थिए ।
कैलालीको भजनी नगरपालिका–३, मन्त्रीफाँटामा विश्वमै दुर्लभ प्रजातिका सारस देखिएका छन्। यस पटक एउटा बच्चासहित तीनवटा सारस देखापरेका छन्। पछिल्लो केही वर्षयता सो क्षेत्रमा यो मौसममा हरेक वर्ष सारस देखिन थालेका हुन्। केही वर्ष सारस आउन छाडेको सो फाँटामा अब सारसको ‘कमब्याक’ भइसकेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो।