धनगढी समाचारदाता
धनगढी, साउन ३० गते । कैलालीको भजनी नगरपालिका–३, मन्त्रीफाँटामा विश्वमै दुर्लभ प्रजातिका सारस देखिएका छन्। यस पटक एउटा बच्चासहित तीनवटा सारस देखापरेका छन्। पछिल्लो केही वर्षयता सो क्षेत्रमा यो मौसममा हरेक वर्ष सारस देखिन थालेका हुन्। केही वर्ष सारस आउन छाडेको सो फाँटामा अब सारसको ‘कमब्याक’ भइसकेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो।
उहाँका अनुसार मन्त्रीफाँटामा देखिएका बच्चा गत वर्षको हो। यो वर्ष अलि ठूलो भइसकेको छ। मन्त्रीफाँटामा बच्चासहितको सारस देखापरे पनि बच्चा कहाँ कोरलेको हो भन्ने थाहा नभएको डङ्गौराको भनाइ छ।
“भजनीमै रहेको अतिक्रमित पुरैना ताल क्षेत्रमा गत वर्ष सारसले गुँड लगाएको कुरो सुनिएको थियो,” उहाँले भन्नुभयो, तर, त्यसको पुष्टि भएन। यद्यपि, बच्चा यतै कतै कोरलेको हुनुपर्छ। गत वर्ष एक जोडी सारस पुरैना तालमै देखिएका थिए। नेपालमा चार प्रजातिका सारस पाइन्छन्। जसमध्ये कालो टाउके सारस विश्वमै दुर्लभ प्रजाति हुन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने रैथाने चरा हो। तर, कालो टाउके सारस भने आक्कल झुक्कल देखिने गरेको बताइन्छ।
लक्ष्मण र क-याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन्। उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको डङ्गौराले बताउनुभयो। सो क्रममा ती चराहरू अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन्। सङ्घले मुस्ताङमा गरेको अध्ययनअनुसार हरेक वर्ष करिब १५ हजार क-याङकुरुङ सारस कालीगण्डकीको आकाश हुँदै नेपाल भित्रिने गरेका छन्। सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ। डङ्गौराका अनुसार सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिको चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी बाघ, चितुवाजस्ता हिंस्रक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्छन्।
खेतीपातीमा कीटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिँदै गएको छ। सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ। बासस्थानका रूपमा रहेको सिमसार क्षेत्र तीव्र रूपमा मासिँदै जानु नै सारसका लागि प्रमुख चुनौती रहेको डङ्गौराले बताउनुभयो। “यसैगरी चोरी सिकार, प्रदूषणलगायतका कारणले पनि सारस समस्यामा परिरहेका छन्,” उहाँले भन्नुभयो।