कङ्गामो हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु
किन्शासा, जेठ २५ गते । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।
नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या ४० पुग्यो
नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ ।
पाकिस्तानको पञ्जाबमा ९ जनाको गोली हानी हत्या
पाकिस्तानको पञ्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन
भि–२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् ।
पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु
बालोचिस्तान, पाकिस्तान, जेठ २५ गते । पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताउनुभयो । घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । उहाँले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिनुभएको छ ।
भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि
भारतमा मङ्गलबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
इरानमा रेल दुर्घटना कम्तीमा दशको मृत्यु
मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
रुसले सेभेरोडोनेत्स्कको आवासीय क्षेत्रहरू नियन्त्रण गर्छः रुसी रक्षामन्त्री
मस्को, जेठ २४ गते । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मस्कोका सेनाले युक्रेनको पूर्वमा पर्ने प्रमुख शहर सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रको पूर्ण नियन्त्रणमा लिएको मङ्गलबार बताएका छन् । पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रमा अझै पनि युक्रेनी अधीन रहेको सबैभन्दा ठूलो शहर सेभेरोडोनेत्स्क - हालैका हप्ताहरूमा लडाइँको केन्द्रबिन्दु बनेको छ । "सेभेरोडोनेत्स्क शहरका आवासीय क्षेत्रहरू पूर्ण रूपमा मुक्त गरिएको छ," शोइगुले रक्षा मन्त्रालयको बैठकमा टेलिभिजन टिप्पणीमा भनेका छन् । रुसी सेनाले अझै पनि शहरको "औद्योगिक क्षेत्र र निकटतम बस्तीहरू" मा आफ्नो नियन्त्रण स्थापित गर्न खोजिरहेको उनले थपेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि रूसी सेनाले देशको पूर्वमा महत्त्वपूर्ण लाभहरू हाँसिल गरेको बताइएको छ । रुसी सेनाले अहिले पूर्वी युक्रेनी बन्दरगाह शहर मारिउपोललाई नियन्त्रणमा लिएको छ जुन द्वन्द्व अघि देशको दोस्रो व्यस्त शहर थियो । "मारिउपोल बन्दरगाहको उत्खनन पूरा भएको छ । यो सामान्य रूपमा सञ्चालन भइरहेको छ र पहिलो कार्गो जहाजहरू स्वीकार गरेको पनि शोइगुले भनेका छन् । मस्कोको आक्रमण सशुरु भएयता ६ हजार ४८९ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको शोइगुले बताएका छन् ।