बार्सिलोनाको जितमा औवामियाङको गोल
काठमाडौँ, वैशाख ९ गते । पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो । औवामियाङले ११औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा अब्बल देखिएपनि रियल सोसिडाडले गोल फर्काउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ६३ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अङ्कले पछाडि छ । एक खेल कम खेलेको रियलको ७८ अङ्क छ । समान ६३ अङ्क बनाएको सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सोसिडाड ५५ अङ्कसहित छैटौँ स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभियाले घरेलु टोली लिभान्लातेई ३–२, एथलेटिक बिल्बाओले काडिजलाई ३–२ र रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । एजेन्सी
महिला गोल्डकप : नेपाल पुलिसको विजयी सुरुवात
धनगढी, वैशाख ४ गते। विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ। कैलालीको धनगढी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले चन्द्रपुर नगरपालिका रौतहटलाई १-० गोलले हरायो। पुलिसको जितमा रेखा पौडेलले निर्णायक गोल गर्नुभयो। रेखाले ५१औँ मिनेटमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो। धनगढीमा पहिलो पटक फर्डलाइटमा रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ। गोल्डकपको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ। यसैगरी प्रत्येक खेलको ‘वमन अफ दि म्याच’लाई पाँच हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो।
फुटबल टोलीको प्रशिक्षण शुक्रबारदेखि
काठमाडौँ, वैशाख १ गते । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको प्रशिक्षण दशरथ रंगशालामा गराउने जानकारी दिएको हो । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाउनुभएको छ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । प्रशिक्षणमा बोलाइएका खेलाडी : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राई ।