सहुलियत पसल असोज पहिलो सातादेखि
सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
आन्तरिक रोजगार प्रवर्धन दशक सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ अभियान सञ्चालन गरेको छ । देशभित्र उपयुक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले २०८१ देखि २०९० सम्मलाई आन्तरिक रोजगारी दशक अभियानका रूपमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यकः चेम्बर
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
नेपाललाई जर्मनी सरकारको आर्थिक सहयोग
जर्मनी सरकारले नेपाललाई करिब सात अर्ब ६१ करोड रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपाल सरकार र जर्मनी सरकारबिच विकास सहायताका लागि जर्मनीको राजधानी बर्लिनमा सम्पन्न द्विपक्षीय वार्तामा यो सहायतासम्बन्धी सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । सहमति अनुसार जर्मनी सरकारका तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन युरो (करिब सात अर्ब ६१ करोड रुपियाँ) अनुदान प्राप्त हुने छ ।
लगानीको वातावरण सकारात्मक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबारदेखि आयोजना भएको ‘तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’ उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको हो । “दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन् । यो सरकारले मुलुकमा लगानीको वातावरण सिर्जना गर्छ,” उहाँले भन्नुभयो । वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो । उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाढीपीडितको माग पूरा गर्न इप्पानको आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बाढीपीडित जलविद्युत्का माग पूरा गर्न आग्रह गरेको छ । ऊर्जा मन्त्रालयसँग बिहीबार गरेको छलफलमा सो आग्रह गरिएको हो । छलफलमा ऊर्जामन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो । निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै सरकारले विधेयकमाथि पुनर्विचार गर्न लागेको उहाँले इप्पानका अधिकारीलाई जानकारी दिनुभयो ।
प्रसारण लाइन निर्माण सुचारु गर्न छलफल
लामो समयदेखि निर्माण अवरुद्ध रहँदै आएको माथिल्लो अरुण जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरोकारवाला निकायका अधिकारीसँग छलफल गर्नुभएको छ । आयोजना, लगानी बोर्ड र प्रसारण लाइन पर्ने पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बिहीबार भर्चुअल संवाद गर्दै उहाँले यसको समाधान निकाल्न सरकार तत्पर रहेको र सो अनुसार काम गर्न सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
सहकारीको समस्या क्रमिक सुधारोन्मुख
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई नियम गर्न छुट्टै निकाय बनाउने काम अगाडि बढेको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न सकिँदैन तर क्रमिक रूपमा सुधार गर्दै लैजाने बताउनुभयो ।
मालपोतको राजस्व सङ्कलनमा ५.२ प्रतिशतले वृद्धि
भूमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०८०/०८१ मा राजस्व सङ्कलनमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।
‘प्रतिफल दिने आयोजनामा ऋण लगानी’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा मङ्गलबार भएको छलफलका क्रममा उहाँले आयोजनाको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । सो क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताउनुभएको हो ।
आगामी सातादेखि चाडपर्वलक्षित अनुगमन, थोक र आपूर्ति कम्पनी प्राथमिकतामा
सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ आउँदो सातादेखि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको हो । विभागका महानिर्देशक राजन पौडेलले थप कर्मचारी माग गरिसकेकाले आउँदो सातादेखि चाडपर्वमा बढी खपत हुने सामानमा केन्द्रित भएर १० वटा टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो ।
तिजमा सुनसान सुनचाँदी पसल
तिजका बेला सधैँ जसो भिडभाड हुने सुनचाँदी पसल यतिबेला सुनसान अवस्थामा छन् । तिज आउन तीन दिन मात्र बाँकी रहँदा बजारमा सुनचाँदीको कारोबारमा उत्साह छैन । मुख्य चाड तिज, दसैँतिहार सुनको कारोबार बढी हुने सिजन हो । सुनको मूल्य बढ्दा त्यसको प्रभावले यस पटक तिजमा सुनचाँदीको कारोबार अत्यन्त घटेको हो । अन्य समयको तुलनामा तिजमा सुनको कारोबार धेरै हुने गरेकोमा यो वर्ष नगन्य जस्तै भएको व्यवसायीको भनाइ छ । तिजका बेला सुनको कारोबार बढ्ने आशामा बसेका सुनचाँदी व्यवसायी कारोबार नबढ्दा निराश अवस्थामा छन् । लगातार सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनचाँदीको माग कम भई कारोबारमा उलेख्य कमी आएको व्यवसायी बताउँछन् ।
आजको विनिमयदर : अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
सोमबारको तुलनामा मङ्गलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ५८ पैसा रहेको छ ।
उन्नाइस हजार मेट्रिक टन चिनी आउँदै
सरकारले भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन चिनी आउँदो साता नेपाली बजारमा आइपुग्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी खरिद गर्नका लागि छनोट गरेका सात वटा निजी व्यापारिक फर्मले आउने साता सो परिमाणको चिनी ल्याउने जनाएका हुन् ।
डिडिसीलाई साठी करोड ऋण सहमति
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डिडिसी) मा ६० करोड रुपियाँ ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छ ।
स्टार्टअप कर्जाका लागि ११६ आवेदन
स्टार्टअप उद्यम कर्जाका लागि ११६ उद्यमीका आवेदन परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुुला गरेको थियो । एक हप्तामै ११६ वटा उद्यमीले कर्जाका लागि अनलाइन र भौतिक रूपमा उपस्थित भएर आवेदन दिएको प्रतिष्ठानले जनाएको छ ।
घट्यो सुनको मूल्य
सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
‘रोजगार विभागको सेवा सातै प्रदेशमा’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगार विभागको सेवा सात वटै प्रदेशमा पु¥याउने तयारी भइरहेको बताउनुभएको छ । आइतबार पत्रकारसँग भएको अनौपचारिक भेटघाटका क्रममा मन्त्री भण्डारीले विभागबाट हाल उपलब्ध हुँदै आएका सम्पूर्ण सेवा न्यूनतम रूपमा प्रदेशस्तरबाट दिने गरी श्रम मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभएको हो ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।
ऊर्जाविज्ञमा अधिकारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उहाँलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेको हो । इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी करिब तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ । काभ्रेको रोशी गाउँपालिका–९ का अधिकारी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिनुहुन्छ । नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।
भित्रियो तीन खर्ब लगानी
नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
प्रसारण लाइन निर्माण सम्झौता
एमसिसी परियोजना अन्तर्गतको १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न शुक्रबार सम्झौता भएको छ । सम्झौताले नेपाल र भारतबिचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको प्रतिबद्धता सुनिश्चित गरेको एमसिए नेपालले जनाएको छ ।