काठमाडौं, वैशाख १ गते । वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो । विश्वव्यापी कोरोना महामारीका बीच श्रम क्षेत्रमा सुधारका प्रयत्न जारी रहे । लामो समयदेखि कर्मचारीको तहमा सीमित नेपालको श्रम कूटनीतिमा गतवर्ष क्रमभङ्ग भयो । श्रम कूटनीति विस्तारमा सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रह्यो । गत चैत पहिलो साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई), कतार र पूर्वी अफ्रिकी मुलुकको भ्रमण गरी श्रम कूटनीतिलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्यो । सोही क्रममा श्रममन्त्रीको उपस्थितिमा नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक युएईको राजधानी आबुधावीमा सम्पन्न भयो । बैठकमा युएईबाट नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने, युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयो । त्यस्तै युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि युएई सहमत भयो । वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि गम्भीर छलफल भयो । भ्रमणकै दौरान मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच त्यहाँ कार्यरत नेपाली श्रमिकको हितका द्विपक्षीय विचारविमर्श भए । सो क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा छलफल भएको थियो ।यही अवधिमा नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भयो । एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने दुवै देश सहमत भए । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सले नेपाललाई द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव पठाएको थियो । सिसेल्स जाने श्रमिकको न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले अध्ययन थालेको छ । अहिले एक हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा छन् । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । सिसेल्सले त्यहाँको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने प्रस्ताव गरेको छ । श्रम गन्तव्य विविधकरणका विषयमा पनि वर्ष २०७८ उल्लेखनीय रह्यो । गतवर्ष नेपालीलाई उच्च आय हुने मुलुकलाई रोजगारीका लागि पठाउने उद्देश्यले संयुक्त अधिराज्य (बेलायत)सँग पनि द्विपक्षीय संवाद भए । सरकारले तुलनात्मकरुपमा उच्च परिश्रमक प्राप्त हुने मुलुक तथा काममा नेपालीलाई रोजगारी दिलाउन पहल गरिरह्यो । नेपाल र बेलायतबीच श्रम समझारी गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाहमा २०७७ सालमा उदाहरणीय कार्य भए । श्रम स्वीकृति लिन घन्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गरियो । वैदेशिक रोजगार विभाग र मातहतका कार्यालयले अनलाइनबाट श्रम स्वीकृति जारी गर्न थाले । जसका कारण दैनिक कार्यालयमा हुने दुई हजारको भीडभाड शून्यमा झर्यो । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले गत माघ २ गतेदेखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाट दिन थाल्यो । यसअघि दैनिक एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा कर्मचारी र सेवाग्राहीबीच अनुचित आर्थिक लेनदेन हुने गुनासो आउने गरेको थियो । त्यस्तै सेवाग्राहीको चाप बढी हुँदा कर्मचारीले रातिसम्म काम गर्नुपर्ने बाध्यता थियो । अनलाइन प्रणाली सुरु गरेसँगै सेवाप्रवाहमा आउने गुनासो ठप्प भएको छ । यसैगरी, विभागले भोलिदेखि संस्थागत श्रम स्वीकृति पूर्णरुपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई ‘डिजिटलाइज्ड’ गर्दै आएको कार्यालयले कल्याणकारी सेवासम्बन्धी कार्य पनि अनलाइनबाटै प्रवाह गर्न थालेको छ । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।ठगी रोकिएनन्, ठगिएकाले न्याय पाएनन्श्रम क्षेत्र सुधारमा व्यापक पहलकदमी सरकारले लिए पनि वैदेशिक रोजगारीका क्रममा हुने ठगी पूर्णतः नियन्त्रणमा आउन सकेनन् । वैदेशिक रोजगारीका नाममा सोझासाझा नेपाली ठगिइनै रहे । ठगिएकाले पनि उचित न्याय पाउन सकेनन् । यद्यपि, सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न विषेश टास्कफोर्स गठन गरी प्रहरी परिचालन गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालित भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्दै आएको छ । टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ ।कोरोना महामारीका कारण विदेशबाट रोजगारी गुमाएका आएका हजारौँ नेपालीले अझै आफूले पाउनुपर्ने पारिश्रमिक प्राप्त गर्न सकेका छैनन् । यसतर्फ सरकारले कूटनीतिक पहल नगरेको उनीहरुको गुनासो छ । बिदामा आउनुभएका विष्णु कुमाल कोरोनाका कारण फर्कन नसक्दा १० वर्षको उपदानबापत जम्मा भएको रकम आफूले पाउन नसकेको गुनासो गर्नुहुन्छ । यस्तै आकर्षक गन्तव्यका रुपमा मानिएको जापानमा विशिष्टकृत कामदार पठाउने समबन्धमा दुई मुलुकबीच समझदारी भएपनि अपेक्षाकृत ढंगबाट रोजगारीको ढोका खुल्न सकेन ।
बैतडी, वैशाख १ गते । बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण सङ्कलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ । डिलाशैनीमा आठ हजार ३९६ र सिगासमा सात हजार २०६ जनाको विवरण सङ्कलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागि भएका छन् ।”हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान सुरु भएको छ । दोगडाकेदारमा २३४ र पुर्चौडीमा ७३५ जनाको विवरण सङ्कलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सात हजार ८५९ जनाको विवरण सङ्कलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ छ ।विवरण सङ्कलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको हो ।राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ ।विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहिता महिलाका हकमा श्रीमान्को पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।
काठमाडौं, वैशाख १ गते । मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसोत, अघिल्लो वर्ष विसं २०७७ पनि कोभिड कहरले नेपालको सबैजसो क्षेत्रलाई चौपट तुल्यायो । त्यसताका पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तरार्द्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान)ले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताउनुभयो । उहाँले वर्ष २०७८ पर्यटनका लागि निराशा र चुनौती सँगसँगै उत्साह पनि थपिएको बताउनुभयो । कार्यवाहक अध्यक्ष शाहका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् । ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोभिड कहरकैबीच पनि अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क विस्तार र नीतिगत योजना बनाउन सहज भएकाले वर्ष २०७८ पर्यटनका लागि राम्रै रहेको कार्यवाहक अध्यक्ष शाहको भनाइ छ । उहाँले कोभिडपछिको पर्यटन पुनरुत्थानका लागि गठित कार्यदलले पनि आगामी रणनीतिबारे काम गरिरहेकाले आगामी दिनमा पर्यटन क्षेत्र सकारात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो । यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले वर्ष २०७८ पर्यटनका लागि निकै दुःखद् भएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष पर्यटनका लागि कठिनाइ रहे पनि पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेकाले आउँदा दिनमा आशाका सङ्केत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष पर्यटनका लागि दुःखद् भयो । विदेशी पर्यटक आगमन न्यून रह्यो । आर्थिक उपार्जन हुन सकेन, यो वर्ष २०७९ तुलनात्मकरूपमा राम्रो होला भन्ने अपेक्षा छ, विदेशी पर्यटक आउन थालेका छन् ।”नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्रै हवाईमार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ”, उहाँले भन्नुभयो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगामनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कालो बादलभित्र चाँदीको घेरा भनेझै मुलुकको पर्यटन क्षेत्र कोभिड कहरले अस्तव्यस्त बने पनि पर्यटनका केही क्षेत्र भने उत्लासमय रहे । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहण क्षेत्रमा उत्साह र उमङ्ग अन्य क्षेत्रको निराशालाई केही आशामा परिणत गरिदियो । वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन, विभिन्न कीर्तिमान पनि कायम भए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । तर २०२१ को वसन्त आरोहण उत्साहवर्द्धक रूपमा रह्यो । कोभिड महामारीको जोखिमकाबीच भएको उक्त आरोहणबाट विश्वभर चर्चा चुलियो । सर्वाधिक सङ्ख्याका आरोहीले आरोहण गरेर अदम्य साहस प्रदर्शन गरेका थिए । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोड्नुभयो । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो । विश्व कीर्तिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन् । यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ । अघिल्लो वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडीसन पर्मिट) दिइएको थियो । यो सन् २०१९ को वसन्त यामको आरोहणभन्दा बढी हो । यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका छ सयभन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।हवाई पूर्वाधारमा फड्कोपर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७८ निकै उपलब्धिपूर्ण रह्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालयनयोग्य भएको छ । यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको यो विमानस्थल आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तै पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा भइरहेको छ । करिब ९३ प्रतिशत काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किँदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ ।नेपाल प्रवर्द्धनमा बिबीसी मास्टर सेफको टोली‘बिबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोष साहसहितको टोलीले नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरेका छन् । गत चैत २४ गते नेपाल आएर सेफ टोलीले नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार–प्रसार गरे । सेफ टोलीले १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवर्द्धनात्मक गतिविधिमा सहभागी भएका थिए । नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीका रूपमा कहलिएको पोखरामा १७औँ फेवा महोत्सव चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना भएको छ । उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभयो । नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।होटल भरिभराउकाठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ छन् । यता ठमेलका होटलहरु पनि आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । पाहुना बढेकाले ठमेल क्षेत्रका व्यवसायी पनि उत्साहित छन् ।काठमाडौं महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ”, महाप्रबन्धक फुँयालले भन्नुभयो । ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष निलहरि बाँस्तोलाले मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउनुभयो । काठमाडौंको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।हवाई उडानमा उत्साहकोभिडका कारण प्रभावित बनेको मुलुकको हवाई क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको छ । आन्तरिक हवाई उडानमा यात्रुको चाप छ । ठूला हवाई सेवा प्रदायक कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान बढेको छ । बुद्ध एयरको सर्वाधिक उडान छ । कम्पनीले हवाई उडान पूर्ववत् लयमा फर्किसकेको जनाएको छ ।हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले आन्तरिक तथा विदेशी पर्यटकको सर्वाधिक रोजाइमा हेलिकोप्टर सेवा रहेकाले हेलिकोप्टरको सेवा विस्तार पनि धमाधम भइरहेको बताउनुभयो । उहाँका अनुसार कोभिड त्रासपछि अहिले हेलिकोप्टर व्यवसायमा उत्साह छाएको छ । अहिले ४० प्रतिशतभन्दा बढी व्यवसाय बढेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार अहिले ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले हवाई उडान सेवा सञ्चालन गर्दै आएका छन् ।
काठमाडौं, वैशाख १ गते । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा देश–विदेशमा रहनुभएका सबैनेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ । मुलुकमा संविधानको रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण हुने सन्देशमा उल्लेख गरिएको छ ।
पूर्णप्रसाद मिश्र काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ ।यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए ।राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ । तीन वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचार–प्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवद्र्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ ।वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारबाट वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्ष भने वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।वाग्मती उत्पत्तिको कथावाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किंबदन्ती प्रसिद्ध छन् । सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिकग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिकग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो । वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गर्छन् ।शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउनुहुन्छ ।वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरूपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्धस्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २७ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ ।यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ ।प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने बनेपाकी सिन्धु चौँलागाईँ आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ ।वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको विस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किंवदन्तीसमेत उपत्यकावासीमा प्रचलित छ ।
काठमाडौँ, वैशाख १ गते । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको कुण्डलग्राम नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशलाबाट उहाँको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उहाँले मानव समुदायलाई जैन दर्शन बाँड्नुभएको हो ।अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिनुभएको थियो । अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । भगवान् महावीरको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गर्नुभएको छ । यस अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै छन् ।
काठमाडौँ, वैशाख १ गते । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज बिहान काठमाडौँमा हल्का वर्षा भएको छ । उपत्यकाको आकाश बिहानैदेखि बदली रहेको छ । काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव चार र न्यूनतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौँ, वैशाख १ गते । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको हो ।उहाँले सबैको क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभई निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो । विगतको वर्ष कष्टकर रहेको भन्दै डा कोइरालाले नयाँ वर्षलाई उत्साह र एकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।उहाँले पार्टीभित्र भएका मतभेद र मनभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै जाने बताउनुभयो । उहाँले नयाँ वर्षको सुखद् उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मोरङ, वैशाख १ गते । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ सालको सुखद् अवसरमा प्रदेशसहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज दिनुभएको सन्देशमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँ वर्ष थप सुखद् र उपलब्धीमूलक बन्न सकोस् भनेर कामना गर्नुभएको छ । सन्देशमा उहाँले नयाँ वर्ष २०७९ मुलुकमा सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि भएको र यस वर्षको सुरुआती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकैपटक निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री राईले यस वर्ष प्रदेश र सङ्घीय संसद्को कार्यकाल समाप्त हुने वर्ष पनि रहेको भन्दै आवधिकरूपमा जनताको अभिमत सङ्कलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ भनेर उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुका साथै यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतीत भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि रहेको उल्लेख गर्नुभएको छ । उहाँले प्रदेशको नामकरण गर्न थाँती रहेको सन्दर्भमा अबका दिनमा प्रदेशसभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको भन्दै प्रदेशसभामा रहेका मुख्य राजनीतिक दलको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेशको नामकरण यसै वर्षमा टुङ्गिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
काठमाडौँ, वैशाख १ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताउनुभएको छ । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उहाँले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताउनुभयो । शुभकामना सन्देशमा उहाँले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताउनुभएको छ । “समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ”, उहाँले सन्देशमा भन्नुभएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले जारी गर्नुभएको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो । “बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ”, उहाँले भन्नुभएको छ, “नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।”
डडेल्धुरा, वैशाख १ गते । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ । सिस्नो लगाएर पर्व मनाइन्छ सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताउनुभयो । आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उहाँले बताउनुभयो । यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ । डडेल्धुराको प्रसिद्ध अमरगढी–८ मा रहेको उग्रतारा मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ । हरेक वर्ष डडेल्धुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रबार लाग्ने स्थानीय रामचन्द्र जैशीले जानकारी दिनुभयो ।
चितवन, वैशाख १ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाइ थियो । भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ ।”स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उहाँको भनाइ छ । तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उहाँले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताउनुभयो । अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उहाँले बताउनुभयो ।
दमौली, वैशाख १ गते । नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि यहाँ सडक खाना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिएको बताउनुभयो । कोभिड सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन प्रभावित भए पनि विस्तारै सङ्क्रमण न्यूनीकरण भएकाले अब यसले गति लिने थापाले उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाको समग्र विकासका लागि २० वर्षे गुरुयोजना बनाइएको बताउनुभयो । महोत्सव शुक्रबारसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले बताउनुभयो । “कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड सङ्क्रमण घटेकाले नयाँ वर्षमा साङ्गीतिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने विश्वास लिएका छौ ।”महोत्सवको उद्घाटनका दिन करिब दुई हजार आन्तरिक पर्यटक बन्दीपुर पुगेका छन् । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् । “नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “सडक खाना महोत्सव पनि एउटा माध्यम हुनेछ ।” यहाँ आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दीपुर उक्लिन सहयोग पु-याउने विश्वास लिइएको प्रधानले बताउनुभयो । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनाका साथै ‘दि इन्ट्रो ब्याण्ड’ को प्रस्तुति रहने आयोजकले जनाएको छ । “नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास हाम्रो छ”, होटल व्यवसायी विपीन प्रधानले भन्नुभयो । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु बन्ने गरेका छन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।
काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।