समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपका घरजग्गा प्रयोग गरी भाडा नबुझाएका व्यक्ति र संस्थालाई फरार सूचीमा राखेको छ । भृकुटीमण्डप परिसरका ३१ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेका स्टल, भवन एवं मेला प्रदर्शनीको एक करोड ८७ लाख ७२ हजार ९८३ रुपियाँ भाडा नदिएर सम्पर्कविहीन भएकालाई फरार सूचीमा राखिएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ । परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भन्नुभयो, “राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।”
नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।
सशस्त्र द्वन्द्व सुरु भएको २८ वर्ष र शान्ति प्रक्रियाको पनि १७ वर्ष नाघिसक्यो तर पनि सङ्क्रमणकालीन घाउ अझै पुरिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी चौकीमा आक्रमण र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरी सशस्त्र द्वन्द्व सुरु गरेको थियो र त्यसलाई उसले जनयुद्धको नाम दिएको थियो ।
आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । ज्येष्ठ नागरिकबारे अध्ययन गरिरहेको जेरियाट्रिक सोसाइटी नेपालका कार्यकारी निर्देशक युवराज रोकाका अनुसार देशभर यस्ता समस्या देखिएको छ । “देशैभर पुगेर ज्येष्ठ नागरिक बारेमा अध्ययन गर्दा धेरै खालका समस्या भोगेको पाइयो,” रोकाले भन्नुभयो, “आफ्नो नाममा सम्पत्ति हुँदा ज्येष्ठ नागरिकले सम्मान पाएका छन् तर घरजग्गा र रकम छोराछोरीका नाममा राख्दा अपहेलित भएका र हेपिएका छन् । उजुरी दिँदा पनि सुनुवाइ गर्ने निकाय नभएको पाइयो । उजुरी दिए झन् समस्या हुने गुनासो उनीहरूको छ ।”
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम निर्णय भने आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ । बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ का अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ । “करिब करिब यसै वरिपरि सहमति भएको छ,” पुनले भन्नुभयो, “यसबारे एकीकृत समाजवादीका साथीहरूले एक पटक फेरि बस्छौँ भन्नुभएको छ । भोलि बिहान बस्ने बैठकले अन्तिम रूप दिने छ ।”
प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई छ सिट दिन प्रस्ताव गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।
चार दल सम्मिलित समाजवादी मोर्चा, नेपाल ७७ वटै जिल्लामा गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको बैठकले यसअघि नै गठन भएका ४७ जिल्लासहित बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो । मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । जनतालाई दिने सेवा प्रवाहमा सरकारको यो एक वर्ष प्रभावकारी देखिएको छ । भ्रष्टाचारविरुद्ध ठुला ठुला कारबाही गर्नुका साथै सुशासन र सामाजिक न्यायसहित समृद्धि हासिल गर्नेतर्फ वर्तमान सरकार उन्मुख छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा पेस गर्ने समझदारी भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतृत्वबिच भएको छलफलबाट आउँदो हिउँदे अधिवेशनमा उक्त विधेयक पेस गर्ने समझदारी बनेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ ।
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । अघिल्लो अभियानका बखत कतिपय नेताले अभियान सकिँदासमेत अत्तोपत्तो पाएनन् ।