• २० वैशाख २०८१, बिहिबार

माओवादी केन्द्रीय समिति बैठक

विधानसम्मत पार्टी नचलेको भन्दै केन्द्रीय सदस्य असन्तुष्ट

blog

नेकपा (माओवादी केन्द्र) का केन्द्रीयसमिति बैठक ।

काठमाडौं, साउन १८ गते। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।  बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी विधान अनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका हुन्। उनीहरूले पार्टीले बनाएको योजनाहरू कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्। 

बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताउनुभयो। उहाँले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताउनुभयो। साङ्गठनिक रूपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी सङ्गठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘पार्टी सङ्गठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यै पनि विधान भत्किन्छ हाम्रो। महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि भत्किन्छ र सबैभन्दा मुख्य समस्या साङ्गठनिक रूपले, राजनीतिक, वैचारिक रूपले नेतृत्व गर्दागर्दै पनि हाम्रो एजेन्डा हुँदाहुँदै पनि साङ्गठनिक रूपले माओवादी पार्टी जहिल्यै चुकेको छ। विधि, पद्धति र प्रणालीमा लगेर चलाउन नै चुकेको छ। भद्रगोल, विधिसम्मत रूपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ।’’

त्यस्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताउनुभयो। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरूको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने उहाँको भनाइ छ। उहाँले माओवादी पार्टीजति विधानमा अरू कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने। अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन। सिद्धियो झर्ने ठाउँ। अब उकालो लाग्ने। ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरूको बल, बुतामा पार्टी रूपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने। ०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने। जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका छन्। रिसाएका जनताको मन खुसी बनाउने। ३ महिनाभित्र विधान सम्मेलन गर्ने। किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन। हामी जतिबेला पायो त्यतिबेला परिवर्तन गर्छौँ। थपिदिन्छौँ। घटाइदिन्छौँ। अब आइन्दा नगर्ने भन्ने छ।’’

केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरू तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रूपले उठिरहेको बताउनुभयो। त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उहाँले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताउनुभयो। 

केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताउनुभयो। उहाँले सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताउनुभयो। आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी सङ्गठन निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो।

सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरूको कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरूले सामूहिकतामा विश्वास गर्नुपर्ने बताउनुभयो।

केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलप्रति आशङ्का र अविश्वास पैदा भइरहेको अवस्थामा पार्टीलाई रूपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो। उहाँले पार्टी अध्यक्षले पार्टीलाई रूपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गर्नुभयो।

केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका सङ्गठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताउनुभयो। बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गर्नुभयो।

केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो। बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उहाँले जानकारी दिनुभयो। 

केन्द्रीय सदस्य शाक्यले पार्टीका नेता भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने र निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गर्नुभयो।