• २० वैशाख २०८१, बिहिबार

अर्ग्यानिक महको अभाव

blog

ताप्लेजुङ कोसेली घरमा बिक्री गर्न राखिएको मौरीको अर्ग्यानिक मह । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १८ गते । ताप्लेजुङमा मौरीको अर्ग्यानिक महको अभाव छ । प्राय, वर्षमा दुई सिजन (मौसम) मात्र उत्पादन हुने घर मौरीको महको मागअनुसार अभाव रहेको हो । 

स्थानीय व्यवसायीले उपभोक्ताको मागअनुसार अर्ग्यानिक मह उपलब्ध गराउन नसकिएको बताउँछन् । अर्ग्यानिक महको खोजी अर्थात् माग अत्यधिक हुने गरेको ताप्लेजुङ कोसेली घरका सञ्चालक ललित गुरुङले बताउनुभयो । उपभोक्ताको मागअनुसार जिल्लामा अर्ग्यानिक मह नपाइने गुरुङले बताउनुभयो ।

जिल्लाका सीमित ठाउँमा मात्र मौरीको मह उत्पादन हुने भएकाले माग धान्ने अवस्था नरहेको गुरुङको भनाइ छ । उहाँले कोसेली घरबाट एक मौसममा एक सय बोतल जति अर्ग्यानिक मह बिक्री गर्ने गरेको बताउनुभयो । 

स्थानीय उत्पादनका अर्ग्यानिक वस्तुहरू मात्र उपलब्ध हुने कोसेली घरबाट सेवाग्राहीको मागअनुसार मह उपलब्ध गराउन नसकिरहेको उहाँले बताउनुभयो । कोसेली घरमा एक मौसममा एक सय बोतलको हाराहारीमा गाउँबाट मह आउने र उक्त परिमाण थोरै समयभित्रै बिक्री भइसक्ने सञ्चालक गुरुङले बताउनुभयो । गाउँबाट आउने मह प्रतिबोतल एक हजार ६०० रुपियाँले लिएर दुई हजार रुपियाँले बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अर्ग्यानिक मह कोसेली र औषधिको रूपमा उपभोक्ताले खोजी तथा खरिद गर्ने गरेका छन् । काठमाडौँ, धरान लगायतका व्यापारीले व्यापारका लागिसमेत मह खोज्ने गर्दछन् । व्यापारीले खोजी गरे पनि कोसेली र औषधिका लागि मह खोज्ने उपभोक्तालाई नै मागअनुसार दिन नसकिएको उहाँ बताउनुहुन्छ । अर्ग्यानिक अर्थात् घर मौरीको मह जिल्लाको थिङ्लाबु, फुरुम्बु, लिबाङ लगायतका गाउँमा उत्पादन हुने गरेको बताइएको छ ।