• ४ जेठ २०८१, शुक्रबार

हिल्साको पुल चीनले बनाइदिने

blog

पुल निर्माणस्थल । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २० गते । नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा कर्णाली नदीमाथि चीनले मितेरी पुल निर्माण गर्ने भएको छ । हिल्सामा आवतजावत सहजताका लागि चिनियाँ पक्षले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पक्की मितेरी पुल निर्माण गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले दुई देशको सिमाना हिल्सामा रहेको कर्णाली नदीमाथि पक्की मितेरी पुल चीन सरकारले निर्माण गर्ने भएको बताउनुभयो । सोबारे जानकारी गराउन चिनियाँ पक्षले नेपाली पक्षलाई हिल्सामा बोलाएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलसहितको नेपाली टोली हिल्सामा गएको थियो । हिल्साबाट फर्केपछि उहाँले दुई देशका अधिकारीबिच भएको बैठकमा मितेरी पुल निर्माणबारे जानकारी चिनियाँ पक्षले दिएको बताउनुभयो । 

उहाँले पुलको निर्माण कार्य आगामी मेबाट सुरु गर्ने तयारी चिनियाँ पक्षले रहेको छ । पुल निर्माण कार्य सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । हिल्सामा पुल निर्माण गर्दा नेपालपट्टिको क्षेत्रमा चिनियाँ कामदार र प्राविधिक आउनुपर्ने भएकाले काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।