• २० वैशाख २०८१, बिहिबार

विद्यालय अब्बल बनाउने महिला प्रधानाध्यापक सुवेदी

blog

सम्झनास्वरुप वृक्षारोपण गर्दै पूर्व प्रअ कृष्णा सुवेदी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार ११ गते । विद्यार्थीको मुहार मलिन भयो । गहभरी आँसु चुहाउँदै शिक्षिका रोए । गलामा दुवो र फूलको माला । सोमवार कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ बक्डरीयाको श्री आधारभूत विद्यालयका पूर्व प्रअको बिदाइले सबैजना भावुक बने । 

दुई दशकको नेतृत्व त्याग्दै कृष्णा सुवेदीले वृक्ष लगाउँदै भन्नुभयो, ‘मैले विद्यालयलाई जोगाएजस्तै यो वृक्षलाई जोगाउनु होला ।’ सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउने महिला प्रअ सुवेदीलाई सम्मानसहित बिदाइ गरिएको छ । सुवेदीले २२ वर्ष विद्यालयको नेतृत्व गरी भौतिक र शैक्षिक क्षेत्रमा परिवर्तन गर्नुभयो ।

नयाँ प्रअ निरञ्जनप्रसाद चौधरीका अनुसार विद्यालय बालमैत्री, कक्षाकोठा व्यवस्थापन, बसाई व्यवस्थापन, सरसफाइको क्षेत्रमा नमुना छ । बालबालिकाको शैक्षिक उपलब्धि दर ५२ प्रतिशत, बालबालिकाको उपस्थितिदर ९७ प्रतिशत रहेको छ । पालिकामा उत्कृष्ट विद्यालयको रूपमा रहेको बुद्धभूमि नगरपालिका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनुभयो । 

विद्यालयका शिक्षिका ज्ञानु आचार्यले भन्नुभयो, ‘विद्यालयलाई राम्रो बनाउनुभयो । झुपडीमा पढाउँदाको सास्ती हटाउनुभयो । सरसफाइमा विद्यालय नमुना बन्यो । तपाईँको योगदान कहिल्यै भुल्ने छैनौ ।’ 

अवकाश प्राप्त शिक्षिका कृष्णा सुवेदीले २०५८ मा विद्यालयको नेतृत्व सम्हाल्नुभएको थियो । समुदाय र बालबालिकाको आनीबानी सुधार्न सबै शिक्षकको सहयोगले सफल भएको सुवेदीले बताउनुभयो ।