नेकपा नेतृत्वको सरकार र पुंँजीवादी हल्ला

devendra dahalदेवेन्द्र दाहाल

कम्युनिस्ट पार्टीको घोषणापत्र र नेपालको कम्युनिस्ट आन्दोलन सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्दा भूमिकामै विचारोत्तेजक धाराणहरू सार्वजनिक गर्नुभएको थियो । उहाँहरूले सुरुमै लेख्नुभएको थियो, “यतिबेला युरोपमा एउटा भूत आतङ्क फैलिरहेको छ, कम्युनिजमको भूत” जसको कारण पोप र जारमात्र होइन, गिजो र फ्रान्सिसी उग्रवादी तथा जर्मनी जासुसी पुलिसहरू सबै कम्युनिजमको विरुद्धमा एकगठ भएका छन् । सारा युरोपका कुनै पुँजीवादी प्रतिक्रियावादीहरू छैनन्, जसले कम्युनिजमको विरोध नगरेको होस् । यस कुराबाट दुईवटा निष्कर्ष निकाल्न सकिन्छ ः
१. कम्युनिस्ट विचार आफैँमा संसारभरि, खासगरी युरोपमा एउटा गतिलो शक्तिका रूपमा उपस्थित भइसकेको छ ।
२. त्यसैले अब यसले आफ्ना विचार, लक्ष्य र उद्देश्यहरू खुला ढङ्गले दुनियाँका अगाडि ल्याउनैपर्ने भएको छ ।
यसो भनिरहँदा साम्यवाद साँच्चै मजदुर, किसान (श्रमजीवी जनता) को पक्षमा र अन्तर्राष्ट्रिय पुँजीजीवीहरूको विरुद्धमा छ भनेर खुला रूपमा उद्घोष गर्नुपर्ने आवश्यकता महसुस गरेर नै त्यतिबेलाको परिस्थितिमा माक्र्स र एङ्गेल्सले आक्रामक रूपले कम्युनिस्ट पार्टीको घोषणपत्र प्रकाशित गर्नुभएको थियो । त्यसैको प्रकाशमा आज दुनियाँको ठूलो हिस्सामा कम्युनिस्टहरूले या त राज्य सञ्चालन गरिरहेका छन् या त प्रमुख र गतिलो शक्तिका रूपमा उपस्थित छन् र कतिपय ठाउँमा आमश्रमजीवी जनताको पक्षमा सङ्घर्ष गरिरहेका छन् ।
हो, त्यही कम्युनिस्ट पार्टी नेपालमा अहिले शासन सञ्चालन गरिरहेको छ । फुट र विभाजनबाट आक्रान्त भएको नेपालको कम्युनिस्ट आन्दोलन यतिबेला एकीकृत भएको छ र जनताको झन्डै दुईतिहाइ मत प्राप्त गरेर सरकार सञ्चालन गरिरहेको छ । तर, यही सरकारको अहिले चौतर्फी विरोध भइरहेको छ । मानौँ यो सरकार आएपछि नै गरिबी, हत्या, हिंसा, भ्रष्टाचार बढेको छ । कस्ता खालका मानिसले यो सरकारको विरोध गरिरहेका छन् त ? पुँजीवादी सञ्चारमाध्यमहरू, पँुजीवादी र अर्धपुँजीवादी बुद्धिजीवीहरू, सबैखालका अवसरवादी तŒवहरू, घुसखोर उच्च ओहदामा रहेका व्युरोक्रेसीमा रहेका मानिस, कम्युनिस्ट पार्टीमा रहेका अवसरवादी व्यक्तिहरू, उग्रवामपन्थी तथा घोर दक्षिणपन्थी शक्तिहरू सबै यो सरकारविरुद्धमा एकजुट भएर लागेका छन् ।
साम्यवाद र पुँजीवादबीचको लडाइँको पृष्ठभूमि
जतिबेलासामन्ती राजतन्त्रत्मक निरङ्कुश पञ्चायती शासकहरूले नेपालमा शासन गरिरहेका थिए, लामो समयसम्म त्यसको विरुद्धमा वामपन्थी र पुँजीवादी शक्तिहरू छुट्टाछुट्टै लडाइँ लडिरहेका थिए । ०४६ सालको संयुक्त जनआन्दोनबाट पञ्चायतको अन्त्य भयो र निरङ्कुश राजतन्त्र संवैधानिक राजतन्त्रमा रूपान्तरण भयो । संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रको स्थापनापछि पँुंजीवादको प्रतिनिधित्व गर्ने काँग्रेस र वामपन्थीको मूलधारका रूपमा रहेको तत्कालीन एमालेबीचमा आमनेसामने लडाइँ सुरु भएको हो । यद्यपि, यो लडाइँ २०१५ सालको आमचुनावको बेला र त्यसको अघि–पछि पनि नभएको होइन तर त्यतिबेला वामपन्थी शक्ति आफैँमा अत्यन्त कमजोर अवस्थामा थियो । ०४६ सालको संयुक्त जनआन्दोलनपछि लगातार करिब ३० वर्षदेखि यो लडाइँ जारी छ ।
यो प्रसङ्ग उठाइरहँदा नेपालमा यतिबेला यो सरकारको विरोध गर्नेहरूको अनुहार सबै जनताले नजिकबाट हेरिरहेका छन्, नियालिरहेका छन् । अहिलेको कम्युनिस्ट सरकारको विरोध गर्नेहरू अठारौँ शताब्दीका तिनै पुँजीवादीहरूका ‘मोडिफाइड’ प्रतिनिधिहरू होइनन् र ? अवश्य तिनीहरू नै हुन् भन्ने कुरामा दुईमत छैन ।
वर्तमान सरकारले गरेका काम
के साँच्चै नेपालको समृृद्धिसँग जोडिएका नेपालमा रेल कुदाउने, कोसी नारायणीजस्ता नदीहरूबाट र प्रशान्त÷हिन्दमहासागरबाट पानीजहाज कुदाउने, चीन र भारतसँग गरिएका पारवाहन तथा व्यापार सम्झौता, जापानसँग सिधै हवाई उडान गर्नका लागि गरिएको सम्झौता, नेपालमा ठुल्ठूला राष्ट्रिय गौरवका आयोजना पारदर्शी र द्रुत गतिबाट सञ्चालन गर्ने कुरा के मित्थ्या हुन् ? यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याउने, साना किसानको ऋण मिनाहा गर्ने, प्रधानमन्त्री रोजगार तथा प्रधानमन्त्री कृषि योजना, यातायातमा सिन्डिकेट अन्त्य गर्ने, ९०० मेगावटको क्षमता भएको अरूण तेस्रो जलविद्युत् आयोजना सिलान्यास भई तीव्र गतिले काम अगाडि बढिरहेको कुरा, बूढीगण्डकीको काम, काठमाडौँ–निजगढ द्रुतमार्ग तीव्र गतिमा अगाडि बढाउने कुरा, निजगढ र भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, पेट्रोलियम पदार्थ र विभिन्न खनिज पदार्थको अन्वेषण गर्ने, यति छोटो समयमा आवश्यक सयौँ कानुन बनाउनेलगायतका यति धेरै कुराहरू सबै मिथ्या हुन् ?
अनि भ्रष्टाचारका कुरा, अनियमितताका कुरा, बेथितिका कुरा, प्रधानमन्त्रीले सदनमा सांसदका प्रश्नका उत्तर नदिएको कुरा, गोविन्द केसीको अनशनको कुरा मात्र अन्तिम सत्य हुन् त ?
प्रश्न कतिमात्र हो भने आकाशै खसेझैँ गरी यत्रो कोलाहाल किन गरिएको होला ? यत्रो कोलाहल गर्नुपर्ने, मुलुक नै बर्बादीको दिशामा गइसक्यो भनेर निष्कर्ष निकालेर संसद् नै अवरुद्ध गर्नुपर्ने अवस्था हो कि होइन ? विचारणीय छ ।
कम्युनिस्टले नै विरोध गर्ने प्रवृत्ति
नेपालमा आफूलाई सामाजिक जनवादी भन्नेहरू बडो विक्षिप्त अवस्थामा पुगेका छन् । डा. बाबुराम भट्टराई एकजना व्यक्तिबाहेक त्यस्तो प्रवृत्तिलाई जनताले किनारा लगाइदिएका छन् । उनीहरूको विरोध र समर्थनले त्यति ताŒिवक अन्तर पार्दैन । तर, आश्चर्यको कुरा त के छ भने आफूलाई समाजवादी, साम्यवादी भन्ने नेकपाका केही कथित विद्वान् व्यक्तिहरू जो पार्टीको जिम्मेवार तहमा बसेका छन्, तिनीहरू पनि पुँजीवादी स्यालहरूसँगै स्वरमा स्वर मिलाउँदै आफ्नै सरकार र नेतृत्वको भत्र्सना गरिरहेका छन् । वैचारिक सङ्घर्ष सञ्चालन गर्दै यस्ता प्रवृत्तिलाई परास्त गर्नु जरुरी छ ।
जनताका सुझाव
बहुसङ्ख्यक श्रमजीवी जनताको हित प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा झन्डै दुईतिहाइ मतसहितको सरकार छ । यस कुराले संसारभरिका पंँुजीवादपन्थीहरू र खासगरी नेपालका पुँजीवादीहरूलाई गहिरो गरी बिझाएको छ भन्ने अनुमान गर्न सकिन्छ ।
नेपालको यो परिवेश हजारौँ वर्षदेखिको वर्गीय लडाइँको अभिव्यक्ति हो, यसमा नेपाली काँग्रेसजस्ता पुँजीवादका नाइकेहरूले जीवन मरणको लडाइँ लडिरहेका छन् र लड्नेछन् । यस कुरालाई स्वभाविक रूपमा लिनुपर्दछ र आम नेपाली जनताको साथ लिएर उनीहरूका त्यस्ता गलत बिचार र प्रबृत्तिलाई परास्त गर्नु पर्दछ । जनताहरूलाई साक्षी राखेर हामीले बिनम्रतापूर्वक स्मरण गराउनै पर्छ, यो सरकारले पाँच वर्षको लागि जनादेश प्राप्त गरेकोे हो । माथि उल्लेख गरिएका र यस लेखमा उल्लेख गर्न छुटेका कैयौं कामहरू सुरु भएका छन् र त्यसको परिणाम आउँदै जाने छ । यस्तो कुरा निश्चित छ भने फेरि एक वर्ष पनि नपुग्दै कांग्रेसले फैलाएका हल्लाका पछाडि लाग्नु पर्ने के कारण छ र ? यसबाट माक्र्स र एंगेल्सले माथि भनिए झैं नेपाल कम्युनिस्ट पार्टी आफँैमा एउटा शक्ति बनेको प्रमाणित भइसकेको हुंदा यसले आफ्ना नीतिहरू अझै स्पष्टताका साथ अगाडि सार्दै सशक्त ढंगले अगाडि बढ्नु आवश्यक
बनेको छ ।
चिनियाँ क्रान्तिको बेला अध्यक्ष माओत्सेतुङले आफ्नो “अन्तरविरोधबारे” भन्ने लेखमा मित्रतापूर्ण अन्तरविरोध र शत्रुतापूर्ण अन्तरविरोधबारेमा सविस्तार व्याख्या गर्नुभएको छ । शत्रुतापूर्ण अन्तरविरोधमा जो क्रान्तिको बाधक हुन्छ, त्यसलाई निषेध गरेर जानुपर्दछ र मित्रतापूर्ण अन्तरविरोधलाई समाधान गर्नेक्रममा आलोचना–आत्मलोचना वा गल्ती, क्षमायाचना गरेर हल गर्न सकिन्छ । अर्को कुरा संसदीय व्यवस्थामा प्रतिपक्षहरूसँग पनि कैयौँ विषयमा सम्झौता पनि गरेर जानुपर्दछ, आमजनताका हितसँग जोडिएका विषयहरू आए भने निश्चितै रूपमा कुराहरू सुन्नु पनि पर्दछ तर प्रधानमन्त्रीकै राजीनामा माग्ने, आमरण अनशनको नाटक गर्दै हामीले जे–जे भन्छौँ, त्यही–त्यही संसद्ले पास गर्नुपर्दछ भनेर भन्न थालियो भने के त्यो सम्भव होला ? त्यसो भए त किन चुनाव गर्नुपथ्र्यो होला
र ? तर, यो वर्र्गीय लडाइँमा कतिपय सवालहरू यस्ता पनि आउँछन्, जसलाई निषेधको बाटो अपनाउनुपर्ने हुन सक्छ ।
सन् १९१७ मा सोभियत सङ्घमा अक्टोबर समाजवादी क्रान्तिपछिको २० वर्षसम्म पनि घरेलु प्रतिक्रियावादीहरू र साम्राज्यवादी शक्तिहरूसँग अथक सङ्घर्ष गर्नुप¥यो । अझै विशेषगरी पार्टीभित्रका अवसरवादी ट्राट्स्कीपन्थी र बुखारिनपन्थीहरूसँग उनीहरूको भौतिक शरीर रहुन्जेलसम्म निरन्तर वैचारिक सङ्घर्ष गर्नुप¥यो । त्यसैगरी, चिनियाँ क्रान्ति सम्पन्न भएको डेढ दशकपछि सर्वहारा साँस्कृतिक क्रान्ति गर्नुपर्ने अवस्था आयो । यो क्रान्तिले बाहिरबाट कोसिस गर्दा केही सीप नचलेपछि कम्युनिस्ट पार्टीलाई ध्वस्त गर्नका लागि बुर्जुवा वर्गले पार्टीभित्र प्रवेश गरेर कसरी दुःख दिन्छन् भन्ने दृष्टान्त दिएको छ । यो एक प्रकारको ठूलो शुद्धीकरण अभियान पनि थियो । यद्यपि, यसबाट पार्टीलाई ठूलो क्षति पनि भएको छ । समाजवादी क्रान्तिक्रममा विश्वभरि यस्ता अनगिन्ती उदाहरणहरू छन् ।
नेपालमा जनवादी क्रान्तिको कोर्स पूरा भयो, अब समाजवादी क्रान्तिको चरणमा प्रवेश ग¥यौँ भन्ने तर प्राप्त उपलब्धिलाई सिर्जनात्मक ढङ्गले लागू गर्न नलाग्ने वा यस विषयमा नेतृत्वलाई सहयोग नगर्ने प्रवृत्ति पनि देखिएको छ । ७० वर्षको इतिहासमा यतिबेला नेपालका दुईवटा ठुल्ठूला कम्युनिस्ट पार्टीहरू एकीकृत भएर वृहत् र विशाल कम्युनिस्ट पार्टी बनेको छ । नेपालको राजनीतिक इतिहासमा कम्युनिस्टहरूका लागि योभन्दा ठूलो उपलब्धि र अवसर के हुन सक्छ ? यस्तो अवस्थामा ढिलाइ भइरहेको सङ्गठन निर्माणको कामलाई छिटो गराउने, सरकारका कमीकमजोरी भए आन्तरिक सिर्जनात्मक सुझावहरू दिएर सच्याउने बाटोमा अग्रसर हुनुपर्नेमा किन त्यस्तो भइरहेको छैन ? यो प्रश्न यतिबेला नेकपाभित्र गम्भीरतापूर्वक उठेको छ ।
ध्यान दिनुपर्ने कुरा
तर, यी माथिका कुराहरूमा अरू कसैलाई दोष लगाएरमात्र पनि हँुंदैन । सत्ता सञ्चालन गरिरहेको पार्टी र त्यसका जिम्मेवार नेताहरूले विशेषगरी आमजनताको तहबाट के कुरा उठिरहेको छ ? जनताका हरेक कुरामा ध्यान दिनैपर्दछ ।
यसै प्रसङ्गमा लेनिनको भनाइ छ, “आफ्नै गल्तीप्रति कुनै राजनीतिक पार्टीले लिने रूख सो पार्टी कति इमानदार छ र त्यसले व्यवहारमा कसरी आफ्नो वर्ग र मेहनतकस जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्छ भन्ने कुरालाई जाँच्ने एउटा महŒवपूर्ण र पक्का तरिका हो । ’’
अर्को प्रसङ्गमा लेनिन फेरि भन्नुहुन्छ, “आजसम्म जति पनि क्रान्तिकारी पार्टीहरू खत्तम भएका छन्, ती खत्तम हुनाको खास कारण के भने तिनीहरू घमण्डी भए, तिनीहरूले आफ्नो शक्ति रहेको ठाउँ (आमजनता) देख्न सकेनन् र तिनीहरू आफ्ना कमजोरीहरू बताउन डराए । तर, हामीचाहिँ नष्ट हुने छैनौँ किनभने हामी आफ्ना कमजोरी बताउन डराउँदैनौँ र तिनीहरूलाई हटाउन सिक्नेछौँ । ”
अर्को एक प्रसङ्गमा स्तालिनले भन्नुभएको छ, “हामीले कुन–कुन कुरालाई नियमका रूपमा लिन सक्छौँ भने जबसम्म बोल्सेबिकहरूले जनताका व्यापक समुदायसित सम्बन्ध कायम राख्दछन्, तबसम्म उनीहरू अजेय हुनेछन् । त्यसको उल्टो जसै बोल्सेबिकहरूले आफूलाई जनताबाट छुट्याउँछन् र जनतासँगको आफ्नो सम्बन्ध गुमाउँछन्, त्यतिबेला उनीहरूमा अवसरवादी ढुसी लाग्दछ, उनीहरूले आफ्नो सारा शक्ति गुमाउँछन् र उनीहरू शून्यबराबर हुन्छन् । ”
स्तालिनले बोल्सेबिक पार्टीलाई एन्टियस र हर्कुलसको कथासँग तुलना गर्नुभएको छ र भन्नुभएको छ, “मलाई के लाग्छ भने बोल्सेबिकहरूले हामीलाई ग्रीक पुराणका वीर एन्टियसको सम्झना गराउँछन् । एन्टियसझैँ उनीहरू बलिया हुनुको कारण के हो भने उनीहरू आफ्नी आमासित अर्थात् आफूलाई जन्माउने, दूध खुवाउने र हुर्काउने आमासरहका जनतासित घनिष्ठ सम्बन्ध कायम राख्दछन् । जबसम्म उनीहरू आफ्नी आमासित वा जनतासित घनिष्ठ सम्बन्ध कायम राख्दछन्, तबसम्म उनीहरू अजेय रहने सारा सम्भावनाहरू रहेका हुन्छन् । बोल्सेबिकहरूको अजेयताको रहस्य त्यही हो । ”
अहिलेको सत्ता सञ्चालक नेकपाले पनि यो एन्टियस र हर्कुलसको कथाबाट शिक्षा लिंदै काम गर्न सक्नु पर्दछ । आफ्नै घमण्डले वा अरू कसैले उनीहरूलाई आफ्नो धरातलबाट माथि उचाल्दै त
छैनन् ? होसियार रहनुपर्दछ । आफ्नो धरातल वा आफूलाई यो स्थानसम्म पु¥याउने जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्न सक्यो भने अर्को पाँच वर्षपछि बन्ने नेकपाको सरकारसँग झन्डै दुईतिहाइ मात्र होइन, पूर्ण दुईतिहाइको सरकार बन्नेछ । उनीहरूमा यो चेतना हुनैपर्दछ ।

(लेखक, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना