• २० वैशाख २०८१, बिहिबार

दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चितता नगर

blog

नगरका मेयर तीर्थराज भट्टराईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिनुहुँदै समन्वय समितिका प्रमुख सन बहादुर राई ।

राजकुमार भट्टराई

खोटाङ, जेठ ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । 

नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै मात्रा खोप नगरपालिकाका १५ वटै वडाका तीन सय ८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । अन्तिम खोप लगाउन छुटेको भेटिएका बाम्राङका तीन जना बालबालिकालाई पनि खोप लगाइएको छ । 

यस्तै, १६ महिनासम्म कुनै खोप नलगाएको खार्मीमा एक बच्चा भेटिएका थिए । उहाँलाई पनि पुरा खोप लगाइएको आचार्यले बताउनुभयो । 

नगरपालिका भित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो । यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका सबै वडाका खोप लगाउने स्वास्थ्यकर्मी र नगरपालिकाका २ जना स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

खोटाङलाई २०७४ पुस १४ गते ३१ औँ पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पछि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ । यो वर्ष हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै साकेला र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता घोषणा पालिका गरिसकेका छन् । बाँकी रहेका ७ स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले बताउनुभयो ।