• १४ वैशाख २०८१, शुक्रबार

भ्रष्टाचार र कमिसनको जालो तोड्नेछु : उपप्रधानमन्त्री श्रेष्ठ

blog

प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत बुद्धिजीवीहरूसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठ पुष्पगुच्छा ग्रहण गर्नुहुँदै।

काठमाडाैं, जेठ ४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

बिहीबार बिहान प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत बुद्धिजीवीहरूसँगको भेटमा श्रेष्ठले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको उल्लेख गर्नुहुँदै यसमा नेपाली डायस्पोरा कम्युनिटीको पनि साथ चाहिने उल्लेख गर्नुभयो ।

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने बताउनुभएका श्रेष्ठले निर्दोषलाई नछुने बताउनुभयो । प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्नुभयो । समन्वय समितिले ठगी, मानव तस्करी, सरकारी कागजात किर्ते र राज्यविरुद्धको अपराध गर्नेहरूमाथि कडा कारबाही गर्नु जरुरी रहेकोमा ध्यानाकर्षण गराएको थियो ।

समन्वय समितिले ध्यानाकर्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो । साथै दोषी देखिएकाहरूलाई कुनै पनि हालतमा नछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । यो कार्यमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दह्रो साथ दिनुभएको श्रेष्ठको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको प्रवास समन्वय समिति इन्चार्ज रहनुभएका उहाँलाई माओवादी केन्द्रको प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

भेटमा प्रवास समन्वय समितिले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बेचबिखनलगायत प्रवासी नेपालको समस्या समाधानका लागि सरकारको नीति कार्यक्रममार्फत अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

सरकारको यो कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जानकारी गराएको थियो । त्यस्तै, सरकारले गरेको कामको समर्थन गर्न सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्ने खाँचो पनि औँल्याइएको छ ।

टोलीमा सह-इन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा. कृष्णकुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।