• २० वैशाख २०८१, बिहिबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख  ३ गते । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ । पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन् । तीन दिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गत शुक्रवार र शनिवार पनि पोखराको उडान प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रियतर्फ बिहान केही समय उडान सामान्य प्रभावित भए पनि अहिले नियमित  उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गर्नुभयो । कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकाशमा फन्को लगाउने) भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

राजधानी काठमाडौँ उपत्यकाको आकाशमा गत शुक्रबारदेखि बाक्लो तुवाँलो लागिरहेको छ ।  रासस