• १५ वैशाख २०८१, शनिबार

गौतम बन्धु राष्ट्रिय समाजको प्रथम राष्ट्रिय भेला

राष्ट्र नै हामी सबैको पहिचान हो : वामदेव गौतम

blog

गौतम बन्धु राष्ट्रिय समाजको प्रथम राष्ट्रिय भेलामा सहभागी विशिष्ट महानुभावहरू ।

काठमाडौं, चैत २५ गते । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्र नै हामी सबैको पहिचान भएको बताउनु भएको छ । 

गौतम बन्धु राष्ट्रिय समाजको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्नुहुँदै सांंसद गौतमले नेपाल राज्य र राष्ट्र पनि हो, हामी सबै अटाउने पहिचान नै नेपाली भएको चर्चा गर्नुभयो । 


समारोहमा उहाँले समाजले प्रकाशन गरेको क्यालेण्डर, डिजिटल गौतम बंशावलीको सार्वजनिकीकरण पनि गर्नुभयो ।

साथै उहाँले गौतमहरूको कुलायन पूजा तथा सङ्ग्राहलय स्थापनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ मा २० रोपनी जग्गा प्रदान गर्नुहुने ९३ वर्षीय भवानी शंकर गौतमका सन्ततिलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । 

यसरी सम्मानित हुनुहुनेमा भवानी शंकरका पोष्टराज गौतम तथा बुहारी शारदा गौतम एवं नातिहरू प्रकाश गौतम, सुरेश गौतम, सुवाश गौतम र नातिनीहरू जेनिशा गौतम, मनिषा गौतम हुनुहुन्छ । सो स्थान काठमाडौंबाट करिब ५६ किमी पूर्व पर्दछ । 

यसैगरी, कार्यक्रममा संघीय सांसद सञ्जय गौतमले सकारात्मक सोचका साथ जनतालाई आशावादी बनाएर अगाडि बढाउनुको बिकल्प छैन भन्नुभयो । 

उहाँले देशमा भ्रष्टाचार कायमै रहेका र नयाँ आशा देखाउन नसक्दा हजारौं युवा विदेशिएका चर्चा गर्दै देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको कुनै विकल्प छैन भन्नुभयो । 


यस्तै, संघीय सांसद सोविता गौतमले आफ्नो संस्कृति र संस्कारको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भन्दै गौतम कुलको इज्जत र मान प्रतिष्ठा जोगाउन आग्रह गर्नुभयो । 

गौतम समाजले एक करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेर आह्वान गरिएकोमा शनिबार नै तीन लाख ५६ हजार ६०३ रुपियाँको प्रतिबद्धता प्राप्त भएको जानकारी समाजको कोषाध्यक्ष प्रकाशमणि गौतमले दिनुभयो । 

प्रतिबद्धता जनाउनु हुने महानुभावमा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम ७२ हजार, श्रीराम के.सी. विदुर गौतम, तिलादेवी गौतम, शोभाकर गौतमले जनही ५१ हजार प्रदान गर्ने हुनुभएको छ । यसैगरी, लेखनाथ गौतम, २५ हजार ५०१, पदम गौतमले पाँच हजार एक सय प्रदान गर्नुभएको छ ।

समाजका अध्यक्ष विदुर गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सांसद दामोदार गौतम, प्रा.डा. रामचन्द्र गौतम, समाजका सचिव टिकाराम गौतमलगायतले गौतम समाजका बारेमा चर्चा गर्नुभयो ।