• १५ वैशाख २०८१, शनिबार

फोन गर्न डाँडामा चढ्नुपर्छ

blog

बैतडी समाचारदाता

बैतडी, फागुन १९ गते । बैतडीको पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता कायम रहेको पाइएको छ । 

फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनुपर्ने बाध्यता यी गाउँको मात्रै होइन सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुरचौडी नगरपालिकाका अधिकांश गाउँको पनि उस्तै समस्या छ । 

पाटन नगरपालिका–१ का गाउँमा सञ्चार सुविधा पु-याउन नेपाल टेलिकमले दुई वर्षअघि निर्माण सुरु गरेको टावर अझै पूरा नभएको स्थानीय गणेश भट्टराईले बताउनुभयो । बेलचौरामा टावरका खाँबो गाडिएका छन्, सोलार पाता र उपकरण पनि जडान भएको छ तर टावर सञ्चालन नहुँदा यहाँका स्थानीय फोन गर्न डाँडातिर जाने गरेको उहाँले बताउनुभयो । 

सिगास गाउँपालिका–१ को बेसरा टोलमा बादल लागेको दिन नेपाल टेलिकमको नेटकर्वले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय जगदीश भट्टले बताउनुभयो । सबै गाउँलाई पायक पर्ने ठाउँमा टावर नभएका कारण फोन सेवाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । 

बैतडीको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिमको प्रयोग हुने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बैतडीका अधिकांश पालिकामा विद्युत् नहुँदा सोलारबाट टावर सञ्चालन गर्नुपर्दा समस्या भइरहेको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख विक्रम टमटाले बताउनुभयो । 

नेपाल टेलिकमले बैतडीका ग्रामीण भेगमा सञ्चार सुविधा पु-याउन टावर विस्तारको काम गरिरहेको भए पनि विद्युत् नहुँदा टावर सञ्चालन गर्न सोलारको भर पर्नुपरेको उहाँले बताउनुभयो । 

बैतडीको पुरचौडी नगरपालिका–५, कुवाकोटको डाँडामा राखिएको नेपाल टेलिकमको टावरले घाम लागेको दिन मात्रै काम गर्ने गरेको स्थानीय दिनेश नागारीले बताउनुभयो । विद्युत् नहुँदा पुरचौडी नगरपालिकालगायत बैतडीको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेको टेलिफोन टावर बेलाबेलामा अवरुद्ध हुने गरेका छन् । 

निर्वाचनका बेला नेताहरूले गाउँमा विद्युत् र टेलिफोन सुविधा पु-याउने वाचा गरे पनि चुनाव जितेपछि समस्या जस्ताको त्यस्तै रहने गरेको सिगास गाउँपालिकाका स्थानीय दीपक विश्वकर्माले बताउनुभयो । 

स्थानीय तहको सरकारले दोस्रो कार्यकाल चलाउँदासम्म पनि गाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट हुँदा स्वास्थ्य संस्थामा टुकी बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।