• १५ वैशाख २०८१, शनिबार

त्रिदेशीय मार्ग अलपत्र

blog

प्युठान समाचारदाता

प्युठान, फागुन ४ गते । सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय मार्ग नौ वर्षदेखि अलपत्र परेको छ । भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक मार्गअन्तर्गतको बाग्दुला–भीमगिठे सडक निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।

सरकारले नौ वर्षअघि प्राथमिकता दिएर प्रक्रिया अघि बढाए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माण प्रक्रियाको लागि टेन्डर भए पनि निर्माण कम्पनी कालोसूचीमा परेकाले काम अघि नबढेको हो । 

सडकको लागत दुई अर्ब ३५ करोड अनुमान गरिएको छ । ४४ किलोमिटर सडकलाई नौ मिटर फराकिलो बनाउने योजना छ । यस सडकले प्युठान नगरपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ । 

गुल्मीको मदाने गाउँपालिका र बागलुङको बडीगाड गाउँपालिकालाई समेत यस सडकले छोएको छ । “नौ वर्षदेखि सडक अलपत्र भएको छ,” झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले भन्नुभयो, “यसको निकासका लागि मन्त्रालयमा पुगेर निवेदन दिएका छौँ ।” पालिकाभित्र मदन भण्डारी राजमार्ग बन्दै गरेकाले उक्त सडकलाई बाग्दुलासम्म जोड्नका लागि मन्त्रालयमा आग्रह गरेको उहाँले बताउनुभयो । 

सरकारले प्युठान–बागलुङ सडकलाई जिल्ला सडकमध्ये पहिलो प्राथमिकतामा पारेर बजेट विनियोजन गरेपछि अर्खा, भीमगिठे र दर्लिङका स्थानीय खुसी भएका छन् तर पनि सडक नबन्दा निराश छन् । गौमुखी गाउँपालिका–१, अर्खाका स्थानीय मित्र थापाले सडक निर्माण नहुँदा स्थानीय निराश बनेको बताउनुभयो । “प्युठानबाट बागलुङसम्म ट्र्याक पनि खुलिसकेको छ,” उहाँले भन्नुभयो, “तर यो आयोजना अहिलेसम्म अघि बढेन ।” 

त्रिदेशीय सम्बन्ध राख्ने सडक भारतसँग जोडिएको दाङको कोइलाबास नाका हुँदै प्युठानको अर्खा, बागलुङको भीमगिठे, म्याग्दी, मुस्ताङ हुँदै चीनको लोमाङथान जोड्ने भएकाले महìवपूर्ण मानिएको छ ।