अधिकमासको स्वरूप र यसको प्रभाव

Purushottam bhattraiपुरुषोत्तम भट्टराई


आगामी जेठ महिनामा अधिकमास परेकाले त्यसका बारेमा विभिन्न धारणा सुनिन थालेका छन् । ती भनाइबाट सामान्य जनसमुदायमा एक किसिमको कौतूहल, जिज्ञासा वा भ्रमसमेत पैदा भएको बुझिन आएको सन्दर्भमा त्यसको निवारण विज्ञजनहरूबाट हुनु आवश्यक देखिन्छ ।
अधिकमास भनेको के हो ?
मास शब्दमा अधि उपसर्ग लागेर बनेको अधिमास शब्दले ज्योतिषीय कालगणनाको क्षेत्रमा विशेष अर्थलाई द्योतन गर्दछ । अधि उपसर्गको अर्थ धेरै भन्ने पनि हुन्छ । यस्तै अधि उपसर्गमा क(कन्) प्रत्यय लागेर बनेको अधिक शब्दले पनि धेरै भन्ने अर्थ नै बोकेको छ । त्यस्तै मास शब्दमा सप्तमी विभक्तिलाई बुझाउने आधारपरक अधिकरण कारकको अर्थमा प्रयोग हुने अधि उपसर्ग लागेर बनेको अधिमास शब्दको अर्थ मासमा वा मासमाथि भन्ने पनि हुन्छ । तसर्थ शाब्दिक रूपमा विचार गर्दा अधिमास वा अधिकमास भन्ने शब्दले सामान्यभन्दा वा आवश्यकताभन्दा बढी भएको मासलाई बुझाउँछ ।
कालगणनाका सन्दर्भमा विभिन्न मानको प्रयोग हुने भए पनि सामान्य व्यवहारमा सौरमान, चान्द्रमान, सावनमान र नाक्षत्रमानको मात्र प्रयोग हुने कुरा ज्योतिषशास्त्रका आधिकारिक ग्रन्थहरूमा बताइएको पाइन्छ । त्यसमा पनि सौरमान र चान्द्रमान नै बढी प्रसिद्ध छन् । सूर्यको गतिकलाका आधारमा गणना गरिने मान सौरमान हो भने तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । बाह्र (१२) महिनाको एक वर्ष हुन्छ । एक वर्षमा बाह्र (१२) सौरमास र त्यति नै संख्यामा चान्द्रमास पनि हुन्छन् । तर कहिलेकाहीँ एक वर्षमा बाह्र (१२) सौरमास भए पनि चान्द्रमासहरूको संख्या तेह्र (१३) हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास हो ।
कसरी पर्छ अधिकमास ?
सूर्यसङ्क्रान्तिदेखि गतेका आधारमा मानिने, हामी सबैले बुझेको र व्यवहार गरिरहेको मास नै सौरमास हो । सूर्य र चन्द्रमाको अन्तर नै तिथि हो । यी दुईको अन्तर १२ अंश हुँदा एक तिथि हुन्छ । पन्ध्र (१५) तिथिको एक पक्ष हुन्छ । शुक्ल पक्ष (शुक्लप्रतिपदाबाट पूर्णिमासम्मको पक्ष ) र कृष्णपक्ष (कृष्णप्रतिपदाबाट औँसीसम्मको पक्ष) गरी दुई पक्ष वा तीस तिथिहरूको मास नै चान्द्रमास हो । चान्द्रमासको गणना अमान्त ( शुक्लप्रतिपदाबाट पूर्णिमासम्मको एक पक्ष र कृष्णप्रतिपदाबाट औंसीसम्मको अर्को पक्ष गरी दुई पक्ष वा तीस (३०) तिथिहरूको मास जुन औंसीमा सकिन्छ) वा पूर्णान्त (कृष्णप्रतिपदाबाट औंसीसम्मको एक पक्ष र शुक्लप्रतिपदाबाट पूर्णिमासम्मको अर्को पक्ष गरी दुई पक्ष वा तिथिहरूको मास जुन पूर्णिमामा सकिन्छ) दुवै क्रमले गरिने प्रचलन भए पनि हाम्रो परम्परामा अमान्त चान्द्रमासको व्यवहार गरिन्छ । सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुनजान्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । यसरी एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।
अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औँसीसम्म)मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ । त्यस्तै कहिलेकहीं एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।
अधिकमास कहिले–कहिले पर्छ ?
सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई वर्ष, आठ महिना, सोह्र दिन र चार घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ ।

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः । ।

सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस दिनभन्दा बढी हुने सौर मासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ । तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ ।
त्यस्तै सूर्यको गति बढी भई दिनहरू छोटा हुने र महिनामा तीस दिन वा त्योभन्दा कम उनन्तीस दिन हुने सौर मासहरूमा क्षयमासको सम्भावना रहन्छ । तसर्थ प्रायः कार्तिकदेखि पुससम्ममा क्षयमास पर्दछ ।
अधिकमासमा कस्ता कस्ता कर्महरू गर्न हुन्छ ?
नित्य कर्महरू (नित्य स्नान, सन्ध्योपासन, जप, तर्पणजस्ता शरीर एवं चित्तशुद्धिका लागि सधैं गरिने कर्महरू , अनन्यगतिक नैमित्यिक कर्महरू (न्वारन, पास्नी, क्रियाकर्मजस्ता निमित्तले गरिने कर्महरू) र रक्षाका लागि गरिने आतुरकालीन शान्ति कर्महरू अधिकमासमा पनि गर्नुहुन्छ तर अन्यगतिक नैमित्यिक कर्महरू र काम्य कर्महरू (विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्महरू) अधिकमासमा गर्नुहँुदैन । पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले हामी सनातनीहरूले गर्न पर्छ र गर्न पनि हुन्छ ।
अधिकमासको तिथिनिर्णय कसरी गर्ने ?
सामान्यतया एक चान्द्रमासमा दुई पक्ष हुन्छन् तर अधिकमास परेको चान्द्रमासमा अधिक र शुद्ध गरी चार पक्ष हुन्छन् । अधिकमासमा जन्म वा मृत्यु भएकाको वार्षिक रूपमा गरिने जन्मोत्सव, श्राद्ध लगायतका धार्मिक कृत्यहरू गर्दा सम्बद्ध शुद्ध तिथिमा गर्नुपर्दछ । कालान्तरमा त्यही मासमा पुनः अधिकमास पर्न गएमा अधिकमासको सम्बद्ध तिथिमा र शुद्ध मासको सम्बद्ध तिथिमा पनि गर्नुपर्दछ । जस्तो— वि. सं. २०७५ सालको जेठ महिनामा अधिकमास परेकाले शुद्ध ज्येष्ठ कृष्णपक्ष, अधिक ज्येष्ठ शुक्लपक्ष, अधिक ज्येष्ठ कृष्णपक्ष र शुद्ध ज्येष्ठ शुक्लपक्ष गरी चार पक्षहरू छन् । शुद्ध पक्षका तिथिहरूको कर्म आगामी वर्षहरूमा सम्बद्ध तिथिहरूमै गरिन्छ भने अधिक ज्येष्ठशुक्ल पक्षका तिथिसम्बद्ध कर्महरू आगामी वर्षहरूमा ज्येष्ठशुक्ल पक्षका सम्बद्ध तिथिहरूमा गर्नुपर्दछ तर अधिक ज्येष्ठकृष्ण पक्षका तिथिसम्बद्ध कर्महरू आगामी वर्षहरूमा आषाढकृष्ण पक्षका सम्बद्ध तिथिहरूमा गर्नुपर्दछ ।
अधिकमास गणनाको परम्परा कति पुरानो छ ?
अधिकमासको चर्चा वैदिक एवं पौराणिक वाङ्मयहरूका साथै धर्मशास्त्रका ग्रन्थहरूमा पाइन्छ । महाभारतमा पूर्वशर्त अनुसार पाण्डवहरूको वनवास र गुप्तवासको समय व्यतीत भएको छैन भन्ने दुर्योधनको शङ्कामा भीष्म पितामहले समय गणना गर्दा बीचमा कतिवटा अधिकमास परेको छ भनेर त्यसको समेत उल्लेख गरेका छन् । पुराणहरूमा अधिकमासको छुट्टै महिमा समेत बताइएको छ । तसर्थ अधिकमास गणनाको परम्परा धेरै पुरानो देखिन्छ बरु प्राचीनकालमा र अहिले अधिकमासको गणना गर्ने विधिमा केही भिन्नता भने पाइन्छ ।
ज्योतिषशास्त्रीय दृष्टिमा अधिकमासको प्रभाव
अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् । यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट भय, चोरी–डँकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।
(ज्योतिष विभाग, वाल्मीकि विद्यापीठ)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना