• १५ वैशाख २०८१, शनिबार

सामूहिक बलात्कारका दोषीलाई तेह्र वर्ष कैद

blog

बोदेबर्साइन समाचारदाता 

बोदेबर्साइन (सप्तरी), माघ १  गते । सामूहिक बलात्कार घटनाका आरोपितलाई कसुरदार ठहर गरी कैद र जरिवानाको फैसला भएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–७ स्थित तीन वर्षअघि भएको सङ्गीता मण्डलको सामूहिक बलात्कारका आरोपितलाई सप्तरी जिल्ला अदालतले दोषी ठहर गरी दुई जनालाई १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ ।

सामूहिक बलात्कारका मुख्य आरोपित परिवर्तित नाम राम र श्यामलाई कसुरदार ठहर गरी १३-१३ वर्ष कैद सजाय तथा पीडित परिवारलाई एक÷एक लाख जरिवाना भराउने भएको छ । पुस १८ गते जिल्ला अदालत सप्तरीले इतिहासमै पहिलो पटक ‘पञ्च’हरूलाई समेत कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो सजाय निर्धारण गरेको जिल्ला अदालत सप्तरीका स्रेस्तेदार कुमार मास्केले जानकारी दिनुभएको हो ।   

सोही घटनामा मतियार रहेका धर्मानन्द मण्डललाई मुख्य प्रतिवादीलाई भएको सजायको आधा छ वर्ष छ महिना कैद र रु एक लाख रुपियाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको छ । कसुरदार नजिकका नातेदार सोही ठाउँका शत्रुघन मण्डल र उजितलाल मण्डललाई वर्ष दिन कैद र २५ हजार क्षतिपूर्तिबापतको रकम भराउने फैसला सुनाएको छ । पञ्चायतमा सहभागी सत्यनारायण मण्डल, वासुदेव मण्डल, जयकान्त मण्डल, झमेली मण्डल, बेचन मण्डल, देव मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलसमेत बाट जनही २० हजार जरिवाना भराई पीडित परिवारलाई क्षतिपूर्तिबापत दिइनेछ ।

 २०७७ भदौ २९ गते नाबालिक सङ्गीता आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा स्थानीय चार जनाबाट सामूहिक बलात्कारमा पर्नुभएको थियो । न्यायका लागि प्रहरीमा जाने निधो गर्नुभएकी सङ्गीता र उहाँकी आमालाई प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने चेतावनीसहित गाउँकै पञ्चहरूले कानुनी प्रक्रिया गर्न रोक लगाएपछि घटनाको दोस्रो दिन २०७७ भदौ ३० गते सङ्गीताले आत्महत्या गर्नुभएको थियो ।