• २१ असार २०८१, शुक्रबार

नष्ट हुन सकेन एसियन पेन्ट्स

blog

काठमाडौँ, पुस १८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिना पहिले जफत गरेको ठूलो परिमाणको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले कात्तिकको पहिलो साता जफत गरेको म्याद गुज्रेको एसियन पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन नसक्दा यस्तो समस्या आएको हो । 

विभागका निर्देशक होमनाथ भट्टराईले म्याद गुज्रेको एसियन पेन्ट नष्ट गर्ने विषयमा निरन्तर प्रयास गरिएको तर उचित ठाउँ अहिलेसम्म नपाएको बताउनुभयो । पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन डेढ महिना पहिले नै काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेर अनुुमति मागे पनि अहिलेसम्म अनुमति नदिएकाले अझै अन्योल भएको उहाँले जानकारी दिनुभयो । 

पेन्ट्समा प्रयोग हुने लिड जलाउँदा स्वास्थ्यका लागि हानिकारक रसायन वातावरणमा फैलिने हुँदा नष्ट गर्दा ध्यान दिनुपर्ने वातावरण विभागले जनाएको छ । विभागका सूचना अधिकारी सरोजा अधिकारीले लिड भएका वस्तु जलाउँदा त्यसबाट निस्किएको नकारात्मक रसायनको असर लामो समय रहने हुनाले मानवीय बस्ती, पानीका मुहान र खेतीयोग्य जमिनको छेउछाउमा नष्ट गर्न नहुने बताउनुभयो । 

संवेदनशील वस्तु भएकाले नष्ट गर्ने उचित ठाउँ नपाउँदा जफत गरेको पेन्ट्स तीन महिनासम्म पनि नष्ट गर्न नसकेको वाणिज्य विभागले स्वीकार गरेको छ । विभागका अनुसार कात्तिकमै म्याद गुज्रेका र रिलेबलिङ गरेको एक करोड आठ लाख ८० हजार रुपियाँ बराबरको रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।  

विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला पारी जफत गरी नियन्त्रणमा लिएर राखेको थियो । विभागका अनुसार म्याद गुज्रेका पेन्ट्सको मूल्य ८२ लाख ५५ हजार ५४५ रुपियाँ र रिलेबलिङ गरेका पेन्ट्सको मूल्य २६ लाख २४ हजार ९३७ रुपियाँ गरी कुल एक करोड आठ लाख ८० हजार रुपियाँ हुन आउँछ । 

विभागका निर्देशक भट्टराईले म्याद गुज्रेका वा रिलेबलिङ गरेका एसियन पेन्ट्सको अनुसन्धान गर्दा आर्भिक इन्टरनेसनल नामक कम्पनीसमेत मिलेर त्यस्तो कैफियत गरेको पाइएपछि आर्थिक जरिवाना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार एसियन पेन्ट्स र आर्भिकलाई तीन/तीन लाख रुपियाँ जरिवाना गरिसकिएको छ । जफत गरिएको पेन्ट्स नष्ट गर्र्ने ठाउँ उपलब्ध गराएपछि निज कम्पनीलाई नै भराउने गरी हाललाई आर्थिक जरिवाना गरेर छोडिएको विभागले जनाएको छ । 

जफत गरेर विभागको परिसरमा राखिएका पेन्ट्सलाई नष्ट गर्न वातावरण विभागबाट अनुमति लिएर काठमाडौँ महानगरको सहयोग चाहिने भएकाले ढिला भएको भट्टराईले स्वीकार गर्नुभयो । “पेन्ट्स नष्ट गर्न काठमाडौँ महानगरमा पत्रचार गरेका छौँ तर अझै जवाफ आएको छैन,” उहाँले भन्नुभयो । महानगरले उचित ठाउँ र सुरक्षाकर्मी उपलब्ध गराएमा जफत गरेको पेन्ट्स तुरुन्तै नष्ट हुने उहाँले बताउनुभयो । 

एसियन पेन्ट्स बहुराष्ट्रिय कम्पनी हो । विभागले यसअघि नै देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी यस्ता म्याद गुज्रेका पेन्ट्स भएमा जफत गरी नियन्त्रणमा लिन निर्देशन दिएको थियो तर अहिलेसम्म जिल्लाबाहिरबाट म्याद नाघेका र रिलेबलिङ गरेका पेन्ट्स फेला परेको खबर नपाएको विभागले जनाएको छ ।