• २० वैशाख २०८१, बिहिबार

नेपाल टी–२० लिग एकदिन पछि सर्‍यो

blog

काठमाडौं, पुस ७ गते । काठमाडौंमा शुक्रबारदेखि सुरु हुने तय भएको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग एक दिन पर सरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार साँझ विज्ञप्ति निकाल्दै लिग शनिबारदेखि सुरु गर्ने जनाएको छ । क्यानले लिगको डाइरेक्टरको रूपमा क्यानकै महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको पनि उल्लेख गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सहभागिता जनाउन अन्तर्राष्ट्रिय खेलाडी काठमाडौं आउने क्रम जारी रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । सोही दिन अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेड भिड्नेछन् । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिइसकेको छ ।

क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने क्यानले जानकारी दिएको छ ।