• २२ असार २०८१, शनिबार

बाँके ३ मा मतगणना सुरु, अन्य क्षेत्रमा तयारी

blog

बाँके ३ मा मतगणना सुरु भएको छ । तस्बिर : सिराज खान

नेपालगन्ज, मङ्सिर ५ गते । बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना कार्य सोमबार बिहान सुरु भएको छ भने जिल्लाका अन्य दुई क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ । 

बाँकेका तीन वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं ३ मा मतगणना बिहान साढे आठ बजेबाट सुरु भएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । बाँकी दुई वटा क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको जनाउँदै निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले क्षेत्र नम्बर २ मा बिहान १० बजेबाट सुरु गरिने सहमति बनेको बताउनुभयो । 

उहाँका अनुसार तीन वटै क्षेत्रमा बसेको सर्वदलीय बैठकले मतगणनाका लागि आन्तरिक संहिता बनाएपछि ३ मा मतगणना सुरु भएको हो भने अन्यमा सुरु हुने तयारीमा छ । बाँकेको निर्वाचन क्षेत्र नं १ को मतगणना राप्ती सोनारीमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

क्षेत्र नं २ को मतगणना नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा हुनेछ भने क्षेत्र नं ३ को मतगणना कपास विकास समिति खजुरामा सुरु भइसकेको छ । सोही प्रकारले क्षेत्र नम्बर १ को मतगणना भने राप्तीसोनारीको अगैयामा सुरु हुन लागेको छ । 

निर्वाचन कार्यालयका अनुसार बाँकेमा ६५.७ प्रतिशत मतदान भएको थियो । बाँकेमा तीन लाख ३२ हजार २३१ मतदाता रहेकोमा दुई लाख १८ हजार ३४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Author

सिराज खान