• २ जेठ २०८१, बुधबार

एक/दुई दिनमा अस्थायी मतदाताको नामावली प्रकाशन हुन्छ : सहायक प्रवक्ता

blog

निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसाल

काठमाडौं, कात्तिक १८ गते । निर्वाचन आयोगले निर्वाचनका लागि एक दुई दिनमा अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गरेर प्रकाशन गरिने बताउनुभयो ।

सहायक प्रवक्ता भुसालका अनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही स्थानमा मतदान गर्ने व्यवस्था हुनेछ । अस्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जनाको नाम आयोगमा सूचिकृत भएको छ ।

कानुनले व्यवस्था गरेअनुसार अस्थायी मतदाता नामावलीमा नाम राख्नका लागि स्थायी मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ । स्थायी मतदाता नामावलीमा आयोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अस्थायी मतदान गर्न नपाइने व्यवस्था भएकाले अहिलेसम्म मतदाता नामावलीमा समावेश भएकामध्ये एक लाख ४४ हजार ६२५ जनाको नाम पुष्टि भएको छ ।

उहाँहरू मतदाता नामावलीमा नाम भएका व्यक्तिहरू हुनुहुन्छ । अरू पुष्टि हुने क्रममा रहेकाले अबको एक वा दुई दिनमा अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन हुने प्रवक्ता भुसालले बताउनुभयो ।