• १५ वैशाख २०८१, शनिबार

हिम्मतवाली आमा डम्बरकुमारी सार्वजनिक

blog

काठमाडौँ, कात्तिक १५ गते । डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ सार्वजनिक भएको छ ।

उक्त पुस्तक सोमबार राजधानीमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालका संस्थापक अनुराधा कोइराला, समाजसेवी तुलसी सुब्बा, लेखक डा. अर्चना थापा र लेखक डम्बरकुमारी तिम्सिनालगायतले लोकार्पण गर्नुभएको हो ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तकमा करिब ७० वर्षअगाडिको जनजीवन, छोरी, छोराबीचको असमान व्यवहार, बुहारीले झेल्नुपर्ने विविध भूमिकाबारे डम्बरकुमारीको अनुभव समेटिएका छन् । लेखक डम्बरकुमारी तिम्सिनाले पुस्तकमा लेखिएका आफ्नो अनुभव आधा मात्र हुन् भन्नुहुँदै जीवनको तीतामीठा अनुभव एक पुस्तकमा नअटाउने रहेछन् भन्नुभयो ।

कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुस्तकमा विस्तारित घटनाले समाज परिवर्तनको झल्कोसहित आजको पुस्ताले समाज बुझ्ने अवसर मिल्ने बताउनुभयो । लेखक डा. अर्चना थापाले आत्मवृत्तान्त विशेषगरी ठूला ओहोदामा पुगेका, नौलो काम गरेकाको मात्र लेखिने भन्ने भ्रमलाई हिम्मतवाली डम्बरकुमारीले चिरेको र हरेक व्यक्ति तथा सर्वसाधारण जीवन बाँच्नेहरूसँग पनि भन्ने कुरा प्रशस्त हुन्छन् भन्ने कुरा यस पुस्तकबाट प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले त्यत्तिबेलाको परिस्थितिमा डम्बरकुमारीले भोगेको यथार्थ घटनाबारे पुस्तकमा वर्णन गरिएको छ भन्नुभयो । अनुराधा कोइरालाले सो पुस्तकले सशक्तीकरणमा प्रेरणा मिल्ने बताउनुभयो ।