• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन

उम्मेदवारका एजेन्डा कृषि र शिक्षा

blog

इनरुवा समाचारदाता

इनरुवा, कात्तिक १५ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले आफूहरूको एजेन्डा कृषि र शिक्षा रहेको बतााएका छन्। कृषि क्षेत्रमा आबद्ध भएका किसानलाई राहतदेखि अनुदानसम्म र मलदेखि कृषिमा आधुनिकीकरण तथा यन्त्रीकरणसम्मको एजेन्डा लिएर मत माग्न जाने उम्मेदवारले बताएका छन्। आफूहरूको प्राथमिकतामा कृषि र शिक्षा भए पनि समग्र विकास, समृद्धि र सुशासन पनि आफ्नो प्रतिबद्धतापत्रमा राखेको बताएका छन्। 

सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहता तेस्रो पटक चुनावी मैदानमा रहनुभएको छ। मेहताले आफू पहिलो पटक दोस्रो संविधान सभामा र दोस्रो पटक संविधान जारी भएपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएको कार्य अनुभवका कारणले काम गर्न सक्ने भएकाले तेस्रो पटक चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ। उहाँले आफ्नो एजेन्डामा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि उद्योग रहेको बताउनुभएको छ। 

मेहताले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, कृषिमा आधुनिकीकरण, देशमा औद्योगिकीकरणसहित रोजगार सिर्जना, विकास, सुशासन, शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुभएको छ। त्यसैगरी नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्य चुनावी मैदानमा हुनुहुन्छ। नेकपा एमालेका उम्मेदवार आचार्यले भने समृद्ध नेपाल खुसी नेपालीको नारा सार्थक पार्दै जिल्लामा कृषिमा यन्त्रीकरणसहित व्यावसायिकीकरण र युवा स्वरोजगारसहितको एजेन्डा रहेको बताउनुभएको छ। निर्वाचनमा जनताका सेवाका लागि कृषि विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारलाई नै बढी जोड दिँदै आफू मैदानमा आएको उहाँ बताउनुहुन्छ। 

आचार्यले देशको समग्र विकास, कृषिमा आधुनिकीकरण र यन्त्रीकरणसहित समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो।  

दुई गठबन्धनबाहेकका दलहरू र स्वतन्त्रका उम्मेदवारले पनि आफ्नो क्षेत्रको विकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारलाई नै बढी जोड दिएको पाइन्छ। प्रतिबद्धतापत्र केही उम्मेदवार बनाउने तयारीमा र केही तयार गरेको प्रतिबद्धतापत्रमा समेत विकास, समृद्धि, सुशासन, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकताका साथ उठाएको छ। 

यहाँ प्रतिनिधि सभाका लागि नेपाली कांग्रेससहितको गठबन्धनका तर्फबाट सीताराम मेहता, नेकपा एमाले र जसपा गठबन्धनको तर्फबाट भीम आचार्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा राप्रपा नेपालबाट रामेश्वर साहु हलुवाई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ममताज मियाँ, हाम्रो नेपाल पार्टीबाट राजेश चौधरी, जनमत पार्टीबाट रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीबाट रोहितकुमार दुलाल, विवेकशील साझा पार्टीबाट विजयकुमार बस्नेत, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादीबाट शोभावतीकुमारी चौधरी चुनावी मैदानमा रहनुभएको छ। त्यसैगरी जनसमाजवादी पार्टी नेपालबाट गजेन्द्रबहादुर ढकाल, राप्रपाबाट दिनेशकुमार बस्नेत, नागरिक उन्मुक्ति पार्टीबाट दीपकराज चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नैनकुमार विश्वकर्मा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर गुरुङ पनि चुनावी मैदानमा उत्रिनुभएको छ। स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रेमप्रसाद भट्टराई, चेतनाथ पौड्याल, फरेन्द्र शाह, बाबुराम सुवेदी, मनोजकुमार मेहता, ललनकुमार मेहता, बबिता नुन्दी, विदुरप्रसाद पौडेल, शर्मानन्द खतिवडा, श्रवणकुमार मेहता र सुरेशकुमार मेहता पनि चुनावी मैदानमा रहनुभएको छ।

उता सुनसरीको सबै क्षेत्रमा आमनिर्वाचनको चुनावी सरगर्मी निकै बढेको छ। उम्मेदवारहरूलाई निर्वाचनको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारप्रसार घरदैलोको मौका दिए पनि उम्मेदवारहरू वडा तथा टोल कमिटी र चुनाव प्रचारप्रसार समिति गठन र भेला गर्दै जनताको घरदैलोमा व्यस्त छन्। सुनसरीका चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यका लागि २०५ जना उम्मेदवार चुनावी मैदानमा छन्।