• २० वैशाख २०८१, बिहिबार

गठबन्धनकै दुई नेताबीच प्रतिस्पर्धा

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक १३ गते । सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै सर्लाहीको क्षेत्र नं. २ मा गठबन्धनकै दुई दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत समेटेर उम्मेदवारको नामावली सार्वजनिक गर्दै सर्लाही क्षेत्र नं. २ मा गठबन्धनभित्रकै दुई दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र लोसपाका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख गरिएको हो। यो क्षेत्रमा माओवादी केन्द्रबाट महिन्द्रराय यादव र लोसपाबाट राजेन्द्र महतोले उम्मेदवारी दिनुभएको छ। 

गठबन्धनभित्रकै दुई दलबाट दुई शीर्ष नेताले एकै क्षेत्रबाट उम्मेदवारी दिएपछि गठबन्धनको आधिकारिक उम्मेदवार को हो ? भन्ने अन्योल थियो तर शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा दुई पार्टीबीच मित्रवत् प्रतिस्पर्धा गर्ने भनी उल्लेख छ। यसरी उम्मेदवार आधिकारिताको विवाद टुङ्गिएको हो। गठबन्धनमा रहेका अन्य दलले दुई उम्मेदवारमध्ये कसलाई सहयोग गर्ने ? भनी निर्णय भने गरिसकेका छैनन्। 

यो क्षेत्रमा नेपाली कांग्रेसको मतलाई निर्णायक मानिएको छ। नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष भए पनि केन्द्रमा भएको सहमतिअनुसार महिन्द्रराय यादवले माओवादीको चुनाव चिह्नबाट चुनाव लड्दै हुनुहुन्छ। 

यो क्षेत्रमा महतो र यादवसँगै एमाले–जसपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले उम्मेदवारी दिनुभएको छ। यस्तै प्रदेश सभा सदस्यतर्फ सर्लाही क्षेत्र नं. १ (१)मा पनि नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। 

गठबन्धनले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा क्षेत्र नं. १ (१)मा माओवादी केन्द्रका रामचन्द्रसिंह कुशवाहा र लोसपाका उपेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख गरिएको छ।