• १५ वैशाख २०८१, शनिबार

सेती र सुर्नया तर्ने पुल बनेन

blog

बाढीले बगाएको सेती नदी तर्ने पुल । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, कात्तिक ११ गते । सेती नदी र सुर्नया नदीमा पुल नहुँदा यहाँका हजारौँ स्थानीयको दैनिकी कष्टकर बनेको छ । सेतीको पुल २०७८ सालको बाढीले बगाएको हो भने सुर्नया नदीमा बन्न लागेको मोटरेवल पुल आठ वर्षदेखि अलपत्र परेको छ । 

सिगास गाउँपालिका–७, भौनेलीपातलदखि डोटी जिल्लाको  आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने सेती नदीको पुल बाढीले बगाएपछि यहाँका स्थानीय समस्यामा परेका छन् । 

पाटन नगरपालिका–६, स्थित सुर्नया नदीमा आठ वर्ष अघि निर्माण सुरु भएको मोटरेवल पुल अलपत्र पर्दा पाटन नगरपालिकाको कैलापाल र सकारका करिब २० हजार स्थानीयको मोटर चढ्ने धोको अधुरै छ । 

सेती नदीमा पुल नहुँदा डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर जानुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर बोहराले बताउनुभयो । 

भावुक हुँदै उहाँले भन्नुभयो,– “मोटर चल्ने बाटो छैन, नदी तर्ने पुल छैन ।” अर्का स्थानीय युवा पदम खडायतले भन्नुभयो “ गाउँमा सडक, बिजुली बत्ती र खानेपानी छैन । चुनाव नजिकिएपछि पुल बनाउने उम्मेदवारले बाचा गर्नुभएको छ ।”  

सेतीको बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न सांसद, मन्त्री र स्थानीय सरकारका प्रतिनिधि आए पनि  एक वर्षसम्म न  राहत न त पुल नै बनेको ढुङ्गाढका बाढीपीडित लोकबहादुर चन्दले पीडा सुनाउनुभयो ।  

उहाँले भन्नुभयो, “बाढीले घर खेत र नदी तर्ने पुल बगाएको छ । निरीक्षण गर्न नेता आए पनि कुनै राहत आएन । बाढीले बगाएको पुल पनि बन्न सकेको छैन । अन्न फल्ने खेतमा बालुवा थुप्रिएको छ । ” 

चुनावमा भोट माग्न गाउँ आएका नेतालाई बाढीले बगर बनाएको खेत देखाउँदै ढुङ्गाढवासीले पुल बनाई दिनेलाई नेतालाई भोट दिने स्थानीय चक्रबहादुर महराले बताउनुभयो । 

ढुङ्गाढ क्षेत्रमा २०५८ साल जेठ २६ गते , २०७०, २०६५ र २०७८ कात्तिक र २०७९ असोज अन्तिम साता गरी पटक–पटक आएको बाढीले गाउँ तहसनहस हुँदा पनि गतिलो तटबन्ध निर्माण हुन नसकेको स्थानीय लोकबहादुर चन्द बताउनुहुन्छ । “बाढीका कारण १०३ घर परिवार विस्थापित छन् । २०७८ र २०७९ मा  आएको बाढीले उठिबास हुने भएको छ । बाढी पीडितका कुरा कसैले सुनिदिएन ।”  

सुर्नया नदीको पुल अलपत्र

सडक डिभिजन कार्यालय पाटन, बैतडीले ठेक्कामार्फत २०७१ सालदेखि निमार्ण सुरु गरेको मोटरेबल पुल आठ वर्षसम्म पूरा नहुँदा पाटन नगरपालिका–१, र ७ नम्बर वडा जोड्ने सडकमा यातायात चल्न नसक्दा स्थानीयले दैनिक उपभोग्य वस्तु पिठ्यूँमा बोकेर ढुवानी गर्न बाध्य भएका छन् । 

दुई करोड ९० लाख रुपियाँको लागतमा निर्माण भइरहेको पुलको विषयमा सडक डिभिजन कार्यालयमा पुगेर गुनासो राख्दा पुल निर्माणको काम अघि बढ्ने आश्वासन मिलेको पाटन नगरपालिका–१, का वडा अध्यक्ष तर्क ठगुन्नाले बताउनुभयो ।  

पुल निर्माणको काम ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम समयमै निर्माण गर्न ठेकेदारलाई ताकेता गरेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख रमेश चौधरीले जानकारी दिनुभयो ।