• २० वैशाख २०८१, बिहिबार

नेतालाई किनारा लगाउनु पार्टी नीति विपरीत हो : नेता रावल

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै नेता भीमबहादुर रावल । तस्बिर : केशव गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २७ गते । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले अनुशासनको कुरा उठाएर पार्टीमा योगदान दिएका नेतालाई किनारा लगाउनु पार्टीको हित, नीति र सिद्धान्तविरुद्ध भएको बताउनुभएको छ । 

नेता रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताउनुभएको हो । नेतृत्वले गरेको गल्ती र त्रुटिको रचनात्मक आलोचना र सुझाव दिएकै कारण निर्वाचनमा टिकटबाट वञ्चित गराइनु गलत भएको उहाँले बताउनुभयो । पार्टीको सिद्धान्त, नीति र जनताको अभिमतविरुद्ध निर्णय लिइनु गलत भएको उहाँले आरोप लगाउनुभयो । पार्टीमा गुटगत नीति कायम राख्नु र त्यहीअनुसार निर्णय लिइनु निहित स्वार्थ भएको उहाँले टिप्पणी गर्नुभयो ।

राष्ट्रिय राजनीतिलाई भ्रष्टाचार बेथितिबाट मुक्त नगरेसम्म देशको विकास सम्भव नरहेको बताउनुहुँदै नेता रावलले भन्नुभयो, “एमालेको सङ्गठन बनाउन र पार्टी बनाउन लामो समयसम्म पसिना बगाएको छु, मेरो उम्मेदवारी रोकिनुमा विभिन्न शक्तिहरूको चलखेल छ भन्ने सुनेको छु ।” मेरो विरुद्धमा अनेक षडयन्त्र भएको महसुस गरेको छु उहाँले भन्नुभयो ।

पार्टी कुनै व्यक्तिको स्वार्थपूर्ति गर्नलाई नहुने चर्चा गर्दै नेता रावलले देश बनाउन र जनताको पक्षमा काम गर्न पार्टी परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । कानुनी राज, विधि पद्धति, राष्ट्रियता, सार्वभौमिकता, जनताको हितमा सदैव आफू तल्लीन रहेको र रहिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यसमा सबै पार्टी पङ्क्ति र जनताको साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई अवसरको रूपमा बदल्न उहाँले सबैलाई आह्वान गर्नुभयो । निर्वाचनमा उम्मेदवारी दिनुभएका सबै उम्मेदवारलाई विजयका लागि उहाँले शुभकामना पनि व्यक्त गर्नुभयो । 

पार्टी कसैको निजी संस्था नभएको चर्चा गर्दै नेता रावलले पार्टीमा सबैको धारणा, विचार र सुझावको कदर गर्न आवश्यक रहेको बताउनुभयो । देशभक्त, मार्क्सवादप्रति प्रतिबद्ध र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई विजयी गराउन उहाँले मतदाताहरूलाई आग्रह गर्नुभयो ।

“पार्टीमा मात्र होइन यो धर्तीमा मेरो अस्तित्व रहन्छ कि रहँदैन भन्ने मुख्य विषय होइन, मुख्य विषय राष्ट्र, राष्ट्रियता र नेपाली जनता हुन्” नेता रावलले थप्नुभयो, “निष्ठा र कर्तव्य परायणताको कुरामा मैले जोड दिने गरेको छु, कुनै पदको कुरामा होइन ।”  नेता रावललाई एमाले अछामले सर्वसम्मत रूपले अछाम १ क्षेत्र बाट सिफारिस गरेको थियो । पार्टीले उहाँलाई टिकट नदिएर अन्य नेतालाई टिकट दिएपछि उहाँ रुष्ट बन्नुभएको छ । उहाँजस्तै एमाले नेता घनश्याम भुसाललाई पनि पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्रबाट अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ ।